सहकारीले गर्यो चार करोड लगानी



नेपाल समाचारपत्र, बुटवल।
अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल–७ दिपनगरले विभिन्न क्षेत्रमा करिब चार करोड रुपियाँ ऋण लगानी गरेको छ। ३ करोड ६३ लाख ५९ हजार ९ सय ४१ रुपियाँ निक्षेप संकलन गरेको सहकारीले ३ करोड ९२ लाख २१ हजार २ सय ३८ रुपियाँ ऋण लगानी गरेको हो।
सहकारीको सोमबार बुटवलमा आयोजित १६औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनका अवसरमा सहकारीले आर्थिक वर्ष २०७५/७६ मा ५३ लाख १४ हजार ३५ रुपियाँ कुल आम्दानी गरेको छ भने सहकारीले ५ लाख २ हजार ४ सय ८१ रुपियाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।

साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले छरिएर रहेको पुँजीलाई एकीकृत सहकारी बलियो र भरपर्दो माध्यम रहेको भन्दै संस्थाको आर्थिक सवलीकरणका लागि अन्य संस्थासँग एकीकरणमा जान सुझाव दिनुभयो।

अहिले एक व्यक्ति धेरैवटा सहकारीमा रहँदा त्यसले वित्तीय अनुशासनमा असर गरेको भन्दै आफ्नै पुँजी एउटै सहकारीमा लगाउन र सहकारीको माध्यमबाट आधारभूत तहका नागरिकलाई आर्थिक समृद्धिसँग जोड्न उहाँले आग्रह गर्नुभयो।

संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार डोलराज पाण्डेले विभिन्न चुनौती पार गर्र्दै संस्था अहिलेको अवस्थामा आइपुगेको भन्दै अब सहकारीले पुँजी वृद्धि गर्ने गरी योजनाका साथ अघि बढ्ने बताउनुभयो।वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष पवित्रादेवी गैरेले संस्थाको शेयर पुँजी र सदस्य थप गर्दै लैजाने र प्रतिस्पर्धी वित्तीय बजारलाई विश्लेषण गरी समयानुकुल बचत र क्रृणको ब्याजदर तथा कर्जा लगानीको सीमा परिमार्जन गर्दै लैजाने बताउनुभयो।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष विष्णु पौडेलले संस्थाको शेयर पुँजी हाल ६२ लाख ५२ हजार ९ सय रहेकोमा आगामी वर्ष १ करोड पुर्याउने लक्ष्य रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्