४६ वटा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण



विमल विष्ट, डोटी।

चालु आर्थिक वर्षमा मात्रै जिल्लामा १० वटा विद्यालय भवन निर्माण गरिएको छ। परराष्ट्र मन्त्रालय, जापान तथा वल्र्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरेको हो।

सीडीसीका परियोजना संयोजक प्रयागराज कापडीका अनुसार सामुदायिक विकास केन्द्र डोटीले जिल्लाका दुर्गा आधारभूत विद्यालय पाकरी, सरस्वती आधारभूत विद्यालय लामिखाल, भैरब आधारभूत विद्यालय लामिखाल, दुर्गा आधारभूत विद्यालय देहीमाण्डांै, लक्ष्मी आधारभूत विद्यालय काँडी, तामेश्वर आधारभूत विद्यालय सिर्मा, कालिका आधारभूत विद्यालय कम्थडा, महाकाली माध्यमिक विद्यालय अलैतवडा र हिमालय आधारभूत विद्यालय दल्लेकमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो।

२०७२ सालको भूकम्पपछि परराष्ट्र मन्त्रालय, जापान तथा वल्र्ड्भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले जिल्लाका विभिन्न विद्यालय भूकम्प प्रतिरोधी भवन निर्माणमा सहयोग गरिरहेको छ।

दिपायल–सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीले सामुदायिक विकास केन्द्र्रले भूकम्प प्रतिरोधी भवन निर्माणसँगै समग्र डोटी जिल्लाको शैक्षिक गुणस्तर विकासमा लामो समयदेखि उल्लेख्य भूमिका खेलिरहेको बताउनुभयो।

‘सामुदायिक विकास केन्द्रले जिल्लामा शैक्षिक गुणस्तर विकासमा निकै राम्रो काम गरेको छ,’ उहाँले भन्नुभयो– ‘जस्ले गर्दा शिक्षाको गुणस्तरमा सुधार भएको देखिन्छ।’

यसै सिलसिलामा जिल्लाको दिपायल–सिलगढी नगरपालिका–२ दिपायलमा रहेको सरस्वती आधारभूत विद्यालयलाई नवनिर्मित आधुनिक भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तान्तरण गरिएको छ। रु ६५ लाख, ९६ हजार ३७२ रुपियाँको लागतमा निर्माण भएको दुई कोठे विद्यालय भवन सोमबार एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको छ।

उक्त विद्यालय भवन परराष्ट्र मन्त्रालय, जापान तथा वल्ड्भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र(सीडीसी) डोटीले निर्माण गरेको हो।

सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधका लागि उपयुक्त भएको वल्ड्भिजन इन्टरनेसनल नेपालका कम्युनिटी चेन्ज संयोजक देवेन्द्र गुरुङले बताउनुभयो।

‘यो तरीकाको भवन भूकम्प प्रतिरोधी छ, उहाँले भन्नुभयो– ‘भुकम्प आएको बेला यसले केही असर गर्न सक्दैन।’ उक्त विद्यालयमा छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय तथा बालमैत्री खानेपानीका धारा निर्माण गरिएको छ।

सरस्वती आधारभुत विद्यालय दिपायलका प्रधानाध्यापक सुरज खड्काले विद्यालयमा नयाँ भूकम्प प्रतिराधी भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको बताउनुभयो। विद्यालयमा करिब ३ सय ३० जना विद्यार्थी अध्ययनरत छन्।

भुकम्प प्रतिरोधी नयाँ भवन साउण्ड पु्रफ भएकोले हावाहुरी तथा पानी पर्दासमेत पढाईमा बाधा नपुग्ने, जाडो मौसमका लागिसमेत उपयोगी भएको वल्ड्भिजन इन्टरनेसनल नेपालका इन्जिनियर अखिल गैरेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्