लथालिङ्ग्ग बन्यो खप्तड पर्यटन विकास समिति



नेपाल समाचारपत्र, डोटी।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्र पर्यटन विकास समिति गठन हुन नसक्दा लिङ्ग्ग अवस्थामा पुगेको छ। करोडौं रकम भ्रष्टाचार भएको चर्चा भैरहेकै बेला समिति गठन नहुँदा विकास निर्माणका काम हुन सकेका छैनन्।

खप्तड क्षेत्र पर्यटन विकास समिति दुई वर्षदेखि गठन हुन सकेको छैन। समितिविहीन बनेका कारण कसरी पर्यटक भित्रयाउने भन्ने चिन्ता स्थानीयमा रहेको छ। पर्यटन वर्ष मनाउने समय नजिकिँदै गर्दा समेत समिति गठन नहुँदा स्थानीयहरू आक्रोसितसमेत बन्न थालेका छन्।

समितिविहीन भएको दुई वर्ष पुग्दासमेत यहाँको प्रदेश सरकारले अहिलेसम्म समिति बिस्तार गर्न सकेको छैन। समिति गठन नभएकै कारण पछिल्लो दुई वर्षयता कार्यालय करिब करिब निष्कृय अवस्थामा रहेको छ।

समिति नबनेका कारण कर्मचारीहरूले गत आर्थिक वर्षयता १३ महिनाको तलबसमेत नपाएको समितिका शाखा अधिकृत प्रेम कुँवरले बताउनुभयो।


‘आर्थिक वर्ष २०७४/०७५ मा कर्मचारीले तलब खान पाए, उहाँले भन्नुभयो– ‘अहिले समिति नबन्दा तलब नै खाना पाइएको छैन।’ समितिको कार्यालयमा पाँचजना कर्मचारी करारमा नियुक्त भए पनि तलब नपाउँदा निकै समस्या भएको उहाँको गुनासो रहेको छ।

करारमा नियुक्त भएका कर्मचारीहरूमा शाखा अधिकृत प्रेम कुँवर, सब–इन्जिनियर दिपेश महतरा र कार्यालय सहयोगीहरू धनबहादुर सिंह, शशी सिंह र लोक रावल रहेका छन्।

नेपाल सरकारबाट राजनीतिक नियुक्ति हुने कार्य समितिको समयावधि सकिएको पनि एक वर्षभन्दा बढी भएकोे छ। गत असोज महिनामा समितिको समयावधि सकिएको हो।

कार्यकारी निर्देशकमा नियुक्त भएर आउनुभएका यम कुँवर भ्रष्टाचार तथा अनियमितताको आरोप लागि नियुक्ति बदर भएपछि अहिलेसम्म कार्यकारी निर्देशकको पनि नियुक्ति भएको छैन। पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय तथा गठनसम्बन्धी जिम्मेवारीको अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गरेको छ।

प्रदेश सरकारको गत वर्षको चैत्र १३ गते बसेको मन्त्रीपरिषद्को निर्णयबाट ‘खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश–२०७५’ स्वीकृत भए पनि अहिलेसम्म न समिति चयन भएको छ, न त कार्यकारी निर्देशक नै पठाइएको छ।

समितिको गठन र कार्यकारी निर्देशकको नियुक्ति प्रदेश सरकारले गर्ने व्यवस्था भए पनि प्रदेश सरकारले वाता नगरेका कारण खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिङ्ग अवस्थामा हुन पुगेको सिलगढीका शिद्धराज जोशीले बताउनुभयो।

‘प्रदेश सरकारले समिति तथा निर्देशक छनोट नगर्दा खप्तड क्षेत्र पर्यटन विकास समिति लथालि· हुँदै छ, उहाँले भन्नुभयो– ‘यसरी पर्यटन वर्ष २०२० कसरी सफल होला र?’

उता सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले खप्तड क्षेत्र पर्यटन विकास समितिको गठन प्रक्रिया अगाडि बढेको बताउनुभयो।

‘समिति गठन गर्ने तयारी भइरहेको छ, उहाँले भन्नुभयो– ‘चाँडै नै खप्तडले पूर्ण समिति पाउने छ।’ खप्तड पर्यटन विकास समिति वर्षांैदेखि निस्किृय भएपछि सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडको प्रचारप्रसार तथा पर्यटन विकास ओझेलमा परेको समितिका पूर्वअध्यक्ष पूर्णराज जोशीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्