भ्रमण वर्ष २०२० को नयाँ गन्तव्य : पहराको एउटै ढुङ्गामा सात कुण्ड



चिरञ्जीवी मास्के, दोलखा।

सुन्द्रावतीका खड्गबहादुर शिवाकोटीले ६० वर्ष अघिको एउटा घट्ना सम्झिनुहुन्छ। सुन्द्रावती सेतिदेवीको महिमा वर्णन गर्दै उहाँले भन्नुभयो– ‘म त्यस्तै १२ वर्षको थिएँ, हाम्रा ६० वटा बाख्रा जङ्गलमा चराएर फर्कंदै गर्दा तीन वटा हराए अनि बुबाले सुन्द्रावती सेतिदेवीको कुण्डमा धूप बत्ती गरेपछि हराएको चौथो दिनमा वस्तु त गोठमै आइपुगेछन्।’

दोलखा कालिञ्चोक गाँउपालिका–९ सुन्द्रावतीमा रहेको सुन्द्रावती सेतिदेवीको महिमा त्यतिमै सकिँदैन। पहराको एउटै ढुंगामा सात वटा कुण्ड रहेको सुन्द्रावती सेतिदेवीको खड्काका अनुसार कुण्डबाट उहिले उहिले गोठाला तथा गाँउलेहरूलाई केही भाँडावर्तन आवश्यक प¥यो भने माग्नासाथ निकाल्न सकिन्थ्यो।

त्यसरी निकालिएको भाँडावर्तन काम सकिएपछि सफा गरेर त्यहि कुण्डमा राखिदिनुपथ्र्यो। तर एक पटक एक जनाले काम सकिएपछि भाँडा वर्तन सफा नगरी कुण्डमा राखिदिएको र त्यसपछि भाँडावर्तन निस्कन छोडेको स्थानीयको कथन छ।

कुण्डबाट भाँडावर्तन निस्कने किंम्वदन्तीका बारेमा वडा नम्बर ९ सुन्द्रावतीका वडा अध्यक्ष रामप्रसाद मैनालीले आफ्नो समुदायको कथा थप्दै भन्नुभयो– ‘त्यस्तै १८६० सालतिर मैनालीहरू सुन्द्रावती आएका रहेछन्। उनीहरूले सुन्द्रावती आएर कालिकामाई भगवतीको गुठी चलाए। गुठीको विभिन्न कार्य गर्दा आवश्यक पर्ने भाँडावर्तन यहि खड्कुले कुण्डमा मागेर लाने गरेका थिए रे।’

एउटा ठूलो पहरामा रहेको सुन्द्रावती सेतिदेवी ठूलो क्षेत्रमा फैलिएको छ। २ सय वर्षभन्दा अघिदेखि यहाँको कुण्डहरूमा पूजा हुँदै आएको स्थानीय बताउँछन्। धेरै पहिले गाँउलेहरू खड्गमा गोठ लिनुअघि सुन्द्रावती सेतिदेवीको पूजा गर्ने र त्यसो गर्दा वस्तुहरूलाई कुनै नोक्सानी नहुने शिवाकोटीले बताउनुभयो।

कुण्ड आसपास चारवटा आकर्षक पाहा बस्ने गरेको स्थानीय बताउँछन्। चार वटा पाहामा एक जोडि सुनौलो रंगको र अर्को जोडी चाँदी रंगको निक्कै आकर्षक रहेको शिवाकोटीको भनाइ छ।

सुन्द्रावती सेतिदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुंगामा तलदेखि माथिसम्म सुन्द्रावती सेतिदेवी भगवती कुण्ड, खड्कुले कुण्ड, गणेश कुण्ड, दूध कुण्ड, कामलुङ पोखरीलगायत सात वटा कुण्ड रहेका छन्। मुख्य कुण्ड सुन्द्रावती सेतिदेवी भगवती कुण्डमा पुजा हुने स्थानीयको भनाइ छ। भगवती कुण्ड आसपास ढुंगाको मूर्ति र त्रिशुलसमेत रहेका छन्।

भगवती कुण्डमा शुद्धमनले पैसा या दूध चढाउँदा पानी भित्र जाने तर मनमा पाप भएकाले चढाउँदा बाहिर निस्कने जनविश्वाससमेत रहँदै आएको छ। झन्डै २३ सय मिटरको उचाइमा रहेको भगवती कुण्डको गहिराइ अहिलेसम्म कसैले पनि नाप्न सकेका छैनन्। एउटा लामो बाँस कुण्डमा डुबाउदा पनि फेद नभेटिएको स्थानीय रोमन थामीले बताउनुभयो।

सुन्द्रावती सेतिदेवी कुण्डमा एकादशी, रामनवमी, फागुपूर्णिमा जस्ता पर्वमा ठूलो मेला लाग्ने गरेको छ। प्राकृतिकरूपमा अद्भूत र आकर्षक कुण्डहरू रहेको, धार्मिक एवं ऐतिहासिक महत्तव रहेको सुन्द्रावती सेतिदेवी कुण्ड भ्रमण वर्ष २०२० को महत्तवपूर्ण गन्तव्य हुने भएकोले यसको प्रवद्धनको लागि सबैले सहयोग गर्नु पर्ने दोलखाका युवा व्यवसायी एवं स्थानीय गणेशविक्रम शाहीले बताउनुभयो।

सुन्द्रावती सेतिदेवी कुण्ड पुग्न चरिकोटबाट कालिञ्चोक गाँउपालिका–९ को कटुवाचौरसम्मको १८ किलोमिटर पिच सडक तथा कटुवाचौरबाट सात किलोमिटर कच्ची सडकमा यात्रा गरेपछि झन्डै एक किलोमिटर सिढी चढ्नुपर्छ।

कुण्डसम्म पुग्ने सडकलाई बाह्रै महिना सञ्चालन गर्न वडाले आवश्यक स्तरोन्नतिको काम गरिरहेको र कुण्डको प्रवद्धनको लागि सप्ताह लगाउने तथा कुण्ड आसपास थप व्यवस्थापन गर्ने तयारीसमेत गरिरहेको वडाध्यक्ष रामप्रसाद मैनालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्