फौजी कीराले धान उत्पादनमा कमी



नेपाल समाचारपत्र, सिन्धुली।

सिन्धुलीमा यस वर्ष धान उत्पानमा कमी आएको छ। अमेरिकी फौजी कीराको कारण गत वर्षको तुलनामा यस वर्ष ८ दशमवल ३८ प्रतिशतले धान उत्पादन घटेको हो।

कमलामाईं नगरपालिका–८ का वडाध्यक्ष टीका मोक्तानले वर्षेनी १२ कठ्ठा खेतबाट ३० मुरीभन्दा धेरै धान उत्पादन गरेर घरमा भित्रयाउनु हुन्थ्यो।

तर अमेरिकन फौजी कीराले क्षति गर्दा मोक्तानको १२ कठ्ठा खेतबाट गत वर्षको तुलनामा यस वर्ष आधा मात्रै धान उत्पादन भयो। ‘पहिला ३० मुरीभन्दा बढी धान घरमा भित्रिन्थ्यो,’ उहाँले भन्नुभयो– ‘यो वर्ष १५ मुरी मात्रै भित्रयाए। धान पाक्ने बेलामा अमेरिकन फौजी कीराले बाला काटेर क्षति गर्दा यस वर्ष धान उत्पादन घटेको हो।’

कीराले बाला काटेर खेतमा छरेका धानबाट अहिले फेरि धान उम्रिन थालेको उहाँले बताउनुभयो। फौजी कीराले कमलामाईं नगरपालिका र मरिण गाउँपलिकाको एक दर्जनबढी वडाको धानबालीमा क्षति गरेको छ।

कृषि ज्ञान केन्द्र सिन्धुलीका अनुसार कीराको संक्रमणका कारण सिन्धुलीमा गत वर्षको तुलनामा यस वर्ष ४ हजार २ सय ७७ मेट्रिक टन धान उत्पादन घटेको छ। यो वर्ष धान खेती गरिएको १५ हजार ३ सय हेक्टर क्षेत्रफलमा ४७ हजार ३ सय ५१ मेट्रिक टन धान उत्पादन भएको छ भने गत वर्ष ५१ हजार ६ सय ८२ मेट्रिक टन उत्पादन भएको थियो।

जिल्लाका धान बालीमा संक्रमणको रूपमा देखा परेको अमेरिकन फौजी कीराको प्रकोपकै कारण यस वर्ष धान उत्पादनमा कमी भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका बागवानी विकास अधिकृत श्रीकृष्ण अधिकारीले बताउनुभयो।

फौजी कीराले झन्डै ३५ सय हेक्टरको धान खेतीमा क्षति गरेको छ। ‘धानबाली भित्रयाउने बेलामा धानको बाला काटेर अमेरिकन फौजी कीराले क्षति गर्दा जिल्लामा धान उत्पादनमै कमी भएको छ, बागवानी विकास अधिकृत अधिकारीले भन्नुभयो– ‘विगत पाँच वर्षमा सिन्धुलीमा धान उत्पादन घटेको थिएन्।

तर फौजी कीराको प्रकोपका कारण यस वर्ष धान उत्पादन घटेको छ।’ जिल्लामा हाईब्रिड, साबित्री, पोख्रेली, रामधान, मन्सुली, खुमलचारलगायतका जातका धान खेती हुँदै आएको छ। फौजी कीराले सिन्धुलीमा मकै बालीमा पनि क्षति गरेको थियो।

प्रतिक्रिया दिनुहोस्