स्वास्थ्य संस्थामा कमिसनको चक्कर



वीरगञ्ज, (नेस) ।

नारायणी अस्पतालमा आइतबार पर्साको जीराभवानीकी शर्मिला थारु आफ्नो पाँच वर्षीय छोराको रगत जाँचका लागि भौंतारी रहनुभएको थियो। उहाँलाई डाक्टरले एक प्रयोगशालमा पठाएका थिए तर त्यहाँ महंगो भएपछि उहाँ सस्तो ल्याब खोज्दैहुुनुहुन्थ्यो।

वीरगन्ज निजी अस्पतालमा मधुमेहसहित अन्यको रगत परीक्षण शुल्क स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेको भन्दा चार गुणा बढी शुल्क रहेको पाइयो। स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रु २५ मात्र शुल्क निर्धारण गरेको छ। तर सरकारी अस्पताल नारायणीको प्रयोगशालाले पनि रु १ सय लिने गरेको छ।

सरकारी अस्पतालले नै मन्त्रालयको आदेश पालना नगरेपछि यहाँका निजी अस्पताल र प्रयोगशालाले मधुमेहको परीक्षण शुल्क मनोमानीरूपले लिने गरेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ब्लड कल्चर रु १ सय २५, पिसाब जाँच रु २५ मा मात्र हुन्छ। तर वीरगन्जमा सोही परीक्षणको तीन गुना बढी शुल्क लिइने गरिएको छ।

प्रयोगशालामा एचआईभी परीक्षण रु १ सय ५० मा गरिन्छ भने वीरगन्जमा रु ५ सय तिर्नुपर्छ। राष्ट्रिय प्रयोगशालामा रु ५ सयमा थाइराइड परीक्षण हुन्छ तर वीरगन्जमा १ हजार ५ सयसम्म लिने गरेको पाइएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले २ सय ८० भन्दा बढी विभिन्न परीक्षणको शुल्क निर्धारण गरेको छ तर वीरगन्जका कुनै पनि प्रयोगशालाले शुल्क निर्धारण गरेको पाइएको छैन। वीरगन्जमा यसो नहुनुको मुख्य कारण परीक्षण शुल्कमा चिकित्सकको कमिसन समावेश हुनु बताइएको छ।

चिकित्सकले प्रयोगशालामा बिरामीलाई विभिन्न रोगको परीक्षण गर्न लेखी पठाएबापत सबै प्रयोगशालाको चिकित्सकलाई दिने कमिसनको दर फरक छ। कम्तीमा ३० र बढीमा ७० प्रतिशत कमिसन चिकित्सकले लिने गरेको प्रयोगशाला सञ्चालकको बताउँछन्।

चिकित्सकलाई कमिसन दिनुपर्दा सोको मार बिरामीले भोग्नुपरेको उनीहरूको भनाइ छ। क्लिनिक सञ्चालन गरेका चिकित्सकले सबैभन्दा बढी कमिसन बुझ्ने गरेका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कार्यक्षमताअनुसार प्रयोगशालालाई पाँच श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता रहेको ‘ए’ श्रेणीको प्रयोगशाला वीरगन्जको मंगलम डाइग्नोस्टिक सेन्टर हो।

यसबाहेक ‘बी’ श्रेणीमा भिजन डाइग्नोस्टिक, तराई हस्पिटल एन्ड रिसर्च सेन्टर, नारायणी सेन्ट्रल डाइग्नोस्टिक लेबोरेट्री, ‘सी’ श्रेणीमा एनएमसी पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टर, वीरगन्ज ओम हस्पिटल प्रालि र ‘डी’ श्रेणीको प्रयोगशालामा इलाइट प्याथोलोजी ल्याब, ओम प्याथोलोजी सेन्टर, अर्चिता डाइग्नोस्टिक सेन्टर, अर्पिता डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर र श्रीराम डाइग्नोस्टिक सेन्टर छन्।

यीबाहेक वीरगन्जमा सबै ‘ई’ श्रेणीका प्रयोगशालाहरू हुन्। सबै प्रयोगशालाले वर्गीकरणअनुसार सेवा र शुल्क निर्धारण गर्नुपर्छ। यसको नियमन जिल्ला जनस्वास्थ्य कार्यालयले गर्नुपर्ने जिम्मेवारी पनि तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्