अनाथ बालबालिकालाई न्यानो कपडा सहयोग



नेपाल समाचारपत्र, जाजरकोट


नेपाल आमा अनाथ आश्रममा रहेका साहाराविहीन बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। भेरी नगरपालिका–३ माथिल्लो थाप्लेस्थित आश्रममा रहेका २७ जना बालबालिकालाई सहयोग गरिएको हो

घरमा स्याहार गर्ने अभिभावक नभई आश्रममा बसेका २७ जना बालबालिकालाई मुुगु जिल्ला छायाँनाथ रारा नगरपालिका स्थायी घर भई काठमाडांै बस्दै आउनुभएकी हाँसाकुमारी मल्ल र ताप्लेजुङ स्थायी घर भई काठमाडौं बस्दै आउनुभएकी तारा निरौला गौतमले २७ जोडा ज्याकेट, ट्राउजर बालबालिकालाई सहयोग गर्नुभएको हो।

केही समयअगाडि प्रकाशन भएको समाचार पढेर न्यानो कपडा अनाथ बालबालिकालाई सहयोग गरेको सहयोगी महिलाद्वय मल्ल र गौतमले बताउनुभयो। भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बालबालिकालाई कपडा हस्तान्तरण गर्नुभएको हो।

अनाथ बालबालिकालाई कपडा हस्तान्तरण गर्दै भेरी नगरपालिकाका नगर प्रमुख घर्तीले चिसो मौसममा न्यानो कपडा दिने सहयोगी मल्ल र गौतमले पुण्य कमाउने काम गरेको बताउनुभयो।
 नगर प्रमुख घर्तीले आगामी दुई वर्षभित्र भेरी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने योजनाका साथ अगाडि बढेको बताउँदै नेपाल आमा अनाथ आश्रममा रहेका अनाथ बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ्यलगायत बालअधिकारका क्षेत्रमा सहयोग गर्नुका साथै नगरपालिकाले अनाथ बालबालिकाको निगरानी राख्ने बताउनुभयो।

घरमा अभिभावक नभएका साहाराविहीन आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई विशेष सहयोग गर्ने बताउनुभयो।आश्रममा रहेका २७ जना बालबालिकामध्ये आठ जना बालबालिकाका आमा बुवा दुवै नभएका बाँकी १९ जना बालबालिकाका बुवाको मृत्यु भएपछि आमा बेपत्ता भएका र आमाको मृत्यु भएपछि बुवा बेपत्ता भएका छन्।

घरमा पालनपोषण गर्ने अभिभावक नभएका बालबालिका आश्रममा रहेको आश्रमकी अध्यक्ष शारदा हमालले बताउनुभयो।

नेपालआमा अनाथ आश्रमकी अध्यक्ष शारदा हमालले साहाराविहीन बालबालिकालाई न्यानो कपडा उपलब्ध गराउने सहयोगी महिलाद्वय मल्ल र गौतमलाई धन्यवाद दिनुभयो।

जिल्लाका सातवटै स्थानीय तहका अनाथ बालबालिका आश्रममा रहे पनि उनीहरूको भरणपोषण, शिक्षा र स्वास्थ्यका लागि कुनै पनि निकायले ठूलो सहयोग नगरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्