फूलैफूलको शहर हेटौंडा



नेपाल समाचारपत्र, हेटौंडा।
हेटौंडा उपमहानगरपालिका सुन्दर र सफा नगरका रूपमा परिचित छ। हुन पनि हो, हेटौंडा प्राकृतिक हिसाबले साँच्चै सिंगारपटार नगरेरै सुन्दर देखिन्छ।
उत्तरी क्षेत्रमा जिल्लाकै परिचित पर्यटकीयस्थल रहेको हेटौंडा त्यसै सुन्दर छ। यही सुन्दर शहर हेटौंडालाई अझ सुन्दर बनाउन हेटौंडालाई ‘फूलैफूलको शहर’ बनाउने अभियान जारी छ।

हेटौंडाका निर्माण सम्पन्न बाटो तथा सडकमा हाल नगरपालिकाले फूल रोप्ने काम गरिरहेको छ। कतिपय ठाउँमा फूलसमेत फूलिसकेका छन्। २०७४ सालमा हेटौंडा उपमहानगरपालिकाले नयाँ नेतृत्व पाएसँगै ‘फूलैफूलको शहर’ बनाउने योजना शुरुआत भएको हो।
योजनासँगै दुई वर्षयता नगर साँञ्चै सुन्दर बन्दै गएको छ। हाल हेटौंडाका २, ४ र ५ नम्बर वडामा फूल लगाउने कार्य भइरहेको नगरपालिका वातावरण महाशाखा प्रमुख ध्रुव भुजेलले जानकारी गराउनुभयो।

नगरपालिकाले कान्तिराजपथबीच डिभाइडर निर्माण गरी फूल रोप्ने कार्यसमेत गरेको छ। तर, समय÷समयमा त्यही डिभाइडरमा उम्रिएका झारपातलगायतले फूललाई नै खाइरहेका हुन्छन्। कहिले त फूल पानीबिनाको माछा झैं ओइलिएर बसेको हुन्छ।

उपमहानगर प्रमुख हरिबहादुर महतलगायत टिमको ‘सुन्दर नगर अभियान’लाई व्यवहारिक रूपमा सहयोग गरेर अझ सुन्दर बनाउने अभियानमा हेटौंडा उपमहानगरपालिकाका स्थानीयले भने खासै चासो देखाएको पाइँदैन।
हेटौंडालाई साँच्चै सुन्दर बनाएर पर्यटकको मन तान्ने अवस्था सिर्जना गर्न हेटौंडा उपमहानगरवासी चुकेको ओइलिएका पात बताउँछन्। वातावरण महाशाखा शाखा भुजेल भन्नुहुन्छ– नयाँ सडक तथा बाटोहरू नगरभित्र बनिरहेका छन्।

त्यस्ता ठाउँमा बिरुवा लगाउने काम भइरहेको छ। हामी बिरुवा रोप्छौं, यसको संरक्षणको जिम्मा स्थानीयलाई दिएका छौं । ‘तर, उहाँहरूले फूल संरक्षणमा त्यति चासो देखाउनुभएको छैन। कुनै ठाउँमा फूललाई पानी हाल्ने काम गर्दिनुभएको छ। तर, प्रायः ठाउँमा हामी आफैंले स्याहार गरिरहेका छौं,’ उहाँले भन्नुभयो।

भुजेलका अनुसार सडकको किनारमा फूल लगाउन शुरु गरेको करिब दुई वर्ष अवधिमा करिब ४० लाख खर्च भइसकेको छ। जसमा पाँच कर्मचारी निरन्तर लागि परिरहेका छन्। ‘फूल गोलमेड, पानी हाल्ने तथा हेरचाहमा उहाँहरू नै खटिरहनुभएको छ। कर्मचारी संख्या कम हो, तर हामी जसोतसो मिलाइरहेका छौं’ –उहाँले भन्नुभयो।

‘उहाँहरूलाई पूजाका लागि अन्य ठाउँमा भौंतारिनुनपर्ने हिसाबले पनि हामीले संरक्षणमा लाग्नुस् भनेका थियौं, भुजेलले भन्नुभयो– ‘त्यो काम भने सोचेअनुरुप हुनसकेको छैन।’
स्थानीयलाई आग्रह गरिए पनि फूलैफूलको शहर बनाउन स्थानीयको साथबिना अधुरो हुनेछ। हाल नगरपालिकाले काठमाडौंबाट फूलका बेर्ना ल्याएर नगरपालिका भवनपछाडि नर्सरी बनाएको छ। त्यहीँ उम्रिएका बिरुवालाई नै नगरपालिकाले ठाउँठाउँमा लगाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्