मापदण्डविपरीतका एम्बुलेन्स नियन्त्रणमा



नेपाल समाचारपत्र, भद्रपुर।

एम्बुलेन्स सेवा सञ्चालन अनुगमन समितिले मापदण्ड विपरीत सञ्चालनमा रहेका झापाका सात वटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ। समितिले तीन वटा एम्बुलेन्सको कागजात नियन्त्रणमा लिइ ‘ह्ीव्ल लक’ गरेको हो। नियन्त्रणमा लिइएका एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड राखिएको छ।

अनुगमनका क्रममा ब्लुबुक, विलबुक, स्टे«चर नभएका, यात्रु बोकेर हिंडेका एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो। समितिले विर्तामोडको कन्काई हस्पिटल अगाडि कागजात विना रोकेको लक्ष्मी रधन्ता स्मृति सेवाद्वारा सञ्चालित मे १ च १०५ नम्बरको एम्बुलेन्सको ‘ह्ीव्ल लक’ गरेको छ।

त्यस्तै मे १ च १४७८ नम्बरको कालिकापीठ कालिस्थान, मे १ च ७०४ नम्बरको लक्ष्मी रधन्ता स्मृति सेवा, मे १ च ८५९ भगवती सेवा समाज, मे १ च १६५४ नम्बरको ज्ञानकुञ्ज सार्वजनिक पुस्तकालय, मे १ च ३३७ नम्बरको नवदुर्गा सामुदायिक प्रतिष्ठानको र मेची मोडल हस्पिटलको नामबाट सञ्चालित मे १ च २०९९ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएको एम्बुलेन्समा हुनुपर्ने साइरन, इमर्जेन्सी बत्ती, अक्सिजन सिलिण्डर, प्राथमिक उपचारसहितका बाकस, स्ट्रेचर, लाइसेन्स, ब्लुबुक, लकबुकलगायत कागजात नभएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताउनुभयो।

एम्बुलेन्स सेवामुखी नभई नाफामुखी हुँदै गएको र बिरामी बोक्ने एम्बुलेन्समा यात्रुसमेत बोक्ने गरेको व्यापक जनगुनासो आएपछि समितिले अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताउनुभयो।

अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालयका, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, जिल्ला ट्राफिक कार्यालयका प्रतिनिधिको टोली थियो। टोलीले जिल्लाका विर्तामोड, कन्काई, शिवसताक्षी, दमक नगरपालिका कमलागाउँपालिकालगायतको क्षेत्रका १६ एम्बुलेन्समा अनुगमन गरेको थियो।

नियन्त्रणमा लिइएका एम्बुलेन्स सञ्चालकलाई तत्काल पत्र काटेर मापदण्डसहितका कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ।

मापदण्ड पूरा नगरेमा एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ ले व्यवस्था गरेको अधिकार प्रयोग गरेर खारेजी गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।झापामा दर्ता भएका १३३ एम्बुलेन्समध्ये ८५ वटा सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जीवन चौलागाईंले बताउँनुभयो।

प्रतिक्रिया दिनुहोस्