कागज एउटासँग, धितो पास अर्कोलाई



उत्तम नेपाल, झापा।

विर्तामोड–८ स्थित सख्खरबारीका गणेश कटवालको परिवार विचल्लीमा पर्ने सम्भावना देखिएको छ। जग्गा धनीले पास गरिदिने आश्वासन देखाएर कागज गरेको ५ वर्ष पुग्दासमेत अर्कै व्यक्तिलाई धितो पास गरिदिएपछि सो परिवार विस्थापित हुने देखिएको हो।

स्थानीय प्रेम पोख्रेलले कटवाल परिवारलाई साविक गरामनी–३ हाल विर्तामोड–८ मा रहेको किनं १६२२ बाट १५ धुर जग्गा पास गरिदिने भन्दै ०७२ फागुन २५ मा अढाइ लाख रुपियाँ मूल्य कायम गरी साधा कागजमा दुवै पक्षले लिखित कागज गरेका थिए।

कागज पश्चात कटवाल परिवारले एक लाख तत्काल दिएका थिए भने बाँकी रकम २०७३।०७४ सालभित्र पास गर्ने गरी लिखित कागज गरेका थिए। बाँकी रहेको एक लाखमध्ये ०७३ जेठ २८ गते ३० हजारसमेत कटवाल परिवारले भीमादेवी घिमिरेलाई दिएको थियो। एक वर्ष पछि ०७३ कात्तिक २५ गते पुनः दोस्रो कागज गरी ०७४ चैत्र मसान्तसम्म जग्गा पास गरिदिने गरी कागज गरेका थिए।

कटवाललाई जग्गा पास नगरी स्थानीय भीमादेवी घिमिरेलाई एक तले पक्की घरसहित पाँच कठ्ठा र कटवाललाई कागज गरेको १५ धुर जग्गासमेत पोख्रेलले सोही बीचमा धितो पास गरिदिए। यो कुरा कटवाल परिवारले थाहा पाएनन्।

पोख्रेल र कटवाल बीच भाका नाघेपछि ०७५ चैत्र ५ गते भीमादेवी घिमिरेको नाममा रहेको कि.नं. १६२२ बाट १५ धुर जग्गा ०७६ जेठ मसान्तसम्म बाँकी रहेको ३० हजार रुपियाँ कटवाल परिवारबाट लिएर रजिष्टेशन पास गर्र्ने गरी ०७५ चैत्र ५ गते घिमिरे र कटवालबीच लिखित कागज गरेका थिए। पटकपटक जग्गा पास गराइदिनु भन्दा पोख्रेलले भाकामात्र दिँदै आएको पीडित गणेश कटवाल बताउँछन्।

समय बित्दै गयो, पछि बंैकका कर्मचारी घरमा आउँदा मात्र बैंकमा धितो राखेको कटवाल परिवारले चाल पाए। अब कुनै प्रमाण छैन तीनवटा कागज देखाउँदै भावुक भएर गणेशले भन्नुभयोे। आफ्नो नाममा जग्गा नभएपछि सेवा सुविधाबाट समेत वञ्चित हुनुपरेको यमुनाले बताउनुभयो। स्थानीय विष्णुमाया कार्कीको धनी पूर्जाबाट घरमा बिजुली जडान गरेको उहाँले सुनाउनुभयो।

श्रीमान(गणेश) तीन वर्षसम्म मानसिक सन्तुलन गुमाएर हाल ठिक हुनु भएको छ भने खर्च अभावका कारण २१ र्विर्षया छोरी सावित्रा ओछ्यान परेको १० वर्ष भइसकेको उहाँले गहभरी आँशु पार्दै भन्नुभयो। जीवनभर पेट काटेर जम्मा गरेको रकम जग्गामा हालियो अहिले लिलाम हुने भो उहाँको पीडा थियो।

कागज गर्ने प्रेमले रकम लिएको स्वीकार गर्नुभयो। रकम अभाव भएका कारण पाँच कठ्ठा १५ धुर चिनजानका आधारमा स्थानीय लक्ष्मीनारायण घिमिरेकी श्रीमती भीमालाई धितो पास गरिदिएको उहाँले बताउनुभयो।

घिमिरेले नेपाल बंगलादेश बैंकबाट २४ लाख रुपियाँ निकालेर साढे आठ लाख दिएको र बाँकी उहाँले चलाएको प्रेमले बताउनुभयो। बैंकले ताकेता गर्दासमेत घिमिरेले ब्याज नतिरेपछि बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको छ।

यता घिमिरे भने बैंकलाई रकम दिएर माघ मसान्तसम्म जग्गा फुकुवा गरी फागुनभित्र कटवाल परिवारलाई जग्गा पास गरिदिने बताउनुहुन्छ।ब्याज रकम नबुझाएका कारण धितो लिलाम भइसकेको नेपाल बंगलादेश बैंक विर्तामोडका प्रबन्धक श्याम रिजालले बताउनुभयो। साँवा र ब्याज गरी लगभग ३० लाख रुपियाँ तिर्न देखिएको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्