पाँचखाल वितरण केन्द्रको अभियानः काठका पोलमुक्त, चुहावट शुन्य



मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल विद्युत्त प्राधिकरण पाँचखाल वितरण केन्द्रले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै घर दैलो सेवा अभियान शुरु गरेको छ । जसका लागि केन्द्रले तालिका निर्माण गरी विभिन्न प्रकारका सेवाहरु उपलब्ध गराउन श्ुरु गरेको छ ।

हाई भोल्टेज लाईन भएका ८ मिटरको दुरीमा रहेका पोलहरुलाई सुधार गरी ११ मिटर कायम गरी अरनिको हाईवेका सधै पोलहरुको सुधार भएको वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताउनु भयो ।

‘अरनिको हाईवे सुधार अन्र्तगत हाईभोल्टेजमा रहेका सबै पोलहरुको सुधार भएको छ’–ढकालले भन्नु भयो–‘शाखा लाईनमा रहेका विद्युत्तका पोलहरुमा छोएका रुखहरु, रुखका हाँगाहरु हटाई काठका कुहिन लागेका र मक्किएका पोलहरु हटाउन शुरु गरेका छौ ।

चालु वर्ष भित्रै हामी काठका पोल मुक्त क्षेत्र बनाउने गरी १ हजार शाखा लाईनमा स्टिलका पोलहरु गाड्दै छौं ।’ ७ हजार ५ सय वटा पोल फेर्नु पर्ने आवश्यक छ । २ महिनामा शाखा लाईनका ३ सय काठका पोल परिवर्तन गरिएको छ भने एक हजार वटा पोल ३ महिना भित्र फेरिनेछ ।

कार्तिक १ गतेबाट पाँचखालमा औपचारिक रुपमा वितरण केन्द्रका रुपमा कार्य शुरु गरेको थियो । दुई महिनाको अवधीमा झण्डै २ सय ५० वटा मिटर ठोक्ने कार्य सम्पन्न भएको छ भने १ सय ५० भन्दा धेरैको लाईन काटिएको छ । बाँकी बक्यौता तिर्नेहरुको भिड लाग्न थालेको उहाँले बताउनु भयो । १ सय भन्दा धेरैलाई विद्युत्त चोरी अभियोगमा कारवाही गरिएको छ ।

पाँचखाल वितरण केन्द्र अन्र्तगत ५ करोड बक्यौता असुल गर्न बाँकी छ । काटिएका लाईन जोड्ने ७० जनाबाट १५ लाख राजश्व संकलन भएको छ । चुहावट कार्वाहिमा १ सय ग्राहकबाट ६ लाख ५० हजार संकलन भएको छ । दैनिक बक्यौता उठ्ने र मिटर जडान माग गर्ने तीन गुणा बढेको छ । अहिलेको घाटा २ सय ४५ बाट १ सय ५५ बनाउन आक्रामक रुपमा चोरी नियन्त्रण शुरु भएको छ । नयाँ मिटर २ सय ५० वटा नचलेका कारण बदली गरीएको छ । ४ सय ५० वटा नयाँ मिटर थप गरिएको छ ।

भुम्लु गाउँपालिकाका वडा नम्वर ६ का अध्यक्ष भरतबहादुर शिवभक्तिले विद्युत्त महशुल बुझाउन बाँकी स्थानीयहरुलाई पत्र काटेरै महशुल तिर्न र नतिरे सेवा सुविधा रोक्का राख्ने चेतावनी दिनु भएको छ । स्थानीयको पनि साथ र सहयोग भए सँगै प्राधिकरणको पाँचखाल वितरण केन्द्रले स्थानीयहरुको आवश्यकता अनुसार मिटर जडान कार्य शुरु गरेको छ । मिटर लगेर जडान नगरी राखेका २ सय ५० भन्दा धेरै ग्राहकहरुको मिटर जडान गरिएको छ । मिटर जडान भएका तर सिल नलगाई चुहावट गरिएका मिटरहरुमा रि–सिल गरिएको छ ।

मिटर जडान, मिटर रिडिङ्ग तथा महशुल, विद्युत्त चोरी नियन्त्रण, मिटरमा सिल लगाउने, वितरण लाईन विस्तार, वितरण लाईन सुधार, संरचना बनाउने मापदण्ड र लाईनको रुट परिवर्तन, अति विपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान, विद्यूत्तिय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले जानकारी दिनु भयो ।

पाँचखाल, हिगुवापाटी, दोलालघाट, पलाञ्चोक नो लाईट, लाईन विस्तार तथा मर्मत, नयाँ मिटर जडान, सिल चुहावट बक्यौता, मिटर रिडिङ्ग तथा महशुलका लागि अलग अलग ब्यक्तिलाई जिम्मेवारी दिई प्रभावकारी सेवा शुरु गरिएको छ । पाँचखाल र मण्डनदेउपुर नगरपालिका, भुम्लु, तेमाल र चौरीदेउराली गाउँपालिकाका सामुदायिक विद्युत्तिकरण सेवा लिने समेत गरी २७ हजार ग्राहकलाई सेवा दिन थालेको छ । १० हजार सामुदायिक विद्युत्तिकरण अन्र्ततका ग्राहकहरु छन् ।

वितरण केन्द्रले आफ्नै चार रोपनी जमिनमा भवन निर्माणको कार्य शुरु गरेको छ । दुई वर्षका लागि भाडामा बसिरहेको भवनबाट आफ्नै भवनमा सर्ने गरी तयारी गरिएको छ ।

आक्रामक शैलीमा कार्य गर्न पर्याप्त श्रोत र साधनको अभाव भएको वितरण केन्द्र प्रमुख ढकालले बताउनु भयो । कार्यालयमा भएको सवारी साधन जिर्ण भएकाले सेवाग्राहिहरुलाई नीजि मोटरसाइकलबाट सेवा उपलब्ध गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्