चोरीको आरोप र चरेससहित दुई पक्राउ



हेटौंडा, (नेस)।

प्रहरीले चोरिका सामानसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार राति करिब पौने ३ बजे हेटांैडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अभियुक्त पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएर चोरी गरी भाग्दै गरेको अवस्थामा हेटौंडा–४ स्थित सडक खण्डबाट अभियुक्त पक्राउ गरेको प्रहरीले जनाएको छ।

हेटांैडा उपमहानगरपालिका–८ बस्ने वर्ष १८ को साजन पराजुलीलाई चोरी गरिएका सुनका गरगहना र ल्याप्टपसहित करिब ७ लाख ६१ हजारबराबरका सामानसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

उनलाई मकवानपुर जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।त्यस्तै विशेष सूचनाका आधारमा बुधबार दिउँसो करिब सवा १ बजे अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका–६ स्थित सन्दीप साहको होटलमा खाना खाँदै गरेका एक भारतीयलाई चरेशसहित पक्राउ गरेको छ।

भारत बिहार मोतीहारी जिल्ला थाना कुन्दवा चैनपुरग्राम कोरैया लौखान वडा नम्बर–८ बस्ने ४० वर्षीय गुलाबीप्रसाद कुशवाहको साथबाट उनले पिठ्यँुमा बोकेको झोला जाँच गर्दा चरेश फेला परेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो।

झोलामा लुकाइछिपाइ राखेको अवस्थामा आठ किलो पाँच सय ग्राम (९ प्याकेट) अवैध लागूऔषध चरेश फेला परेको हुँदा उनलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक खनालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्