राजधानीका लागि प्रमुख नेताको धारणा खोज्दै प्रदेश सरकार



नेपाल समाचारपत्र, बुटवल ।

प्रदेश पाँच सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी तोक्नका लागि सबै दलका शीर्ष नेताहरूको विषय बन्नुपर्ने बताउनुभएको छ।

प्रदेश पाँचको नामाकरणको लागि कुनै समस्या नभएको तर स्थायी राजधानी तोक्नका लागि समस्या भएकाले शीर्ष नेताहरूको धारणा चाहिने मन्त्री चौधरीले बताउनुभएको छ।

कानुनअनुसार दुई तिहाई भए पनि स्थायी राजधानीका लागि बुटवल र दाङको विवाद भएकाले शीर्ष नेताहरूको धारणा आवश्यक परेको उहाँले बताउनुभयो।

‘हिजो निर्वाचका बेला दाङका नेताहरूले दाङ र बुटवल नजिकका नेताहरूले बुटवल स्थायी राजधानी भनेका अहिले समस्या परेकोले राजनीतिक निर्णय आवश्यक छ, उहाँले भन्नुभयो– ‘प्रदेश नामाकरण र स्थायी राजधानी सिफारिस विशेष समितिले प्रतिवेदन बुझाई सकेको छ, अब प्रदेश सभामा प्रस्तुत गरेर काम कारबाहीलाई अगाडि बढाइने छ।’

रिपोटर्स क्लबले बुधबार बुटवललमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो। सर्वसम्मत बनाउने प्रयास गरिने र नभए जहाँबहुमत सिद्व हुन्छ त्यही प्रदेश स्थायी राजधानी र नामाकरण गरिने मन्त्री चौधरीको भनाइ छ।

उहाँले प्रदेश पाँचको स्थायी राजधानी र नामबारे मिडियाले चासो लिएको उल्लेख गर्दै मिडियाकर्मी साथीहरूलाई नढाँटी भन्दा प्रदेश ३ को निर्णय भएपछि प्रदेश पाँचमा निर्णय गर्नका लागि उपयुक्त हुने बताउनुभयो।

प्रदेश पाँचमा दुर्घटना न्यूनीकरणका लागि सबै सरोकारवालासँग छलफल गरी दुर्घनालाई शून्य गराउने गरी काम गरिने उहाँको भनाइ छ। भौतिक पूर्वाधार मन्त्रालयले बजेटको ४३ प्रतिशत खर्च गर्नुपर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो– ‘कर्मचारीको कमीले बजेट खर्चमा समस्या परेको छ।’

मन्त्री चौधरीले अहिलेसम्म १०/१२ प्रतिशत बजेट खर्च भएको जानकारी गराउँदै पुस मसान्तसम्म ४० प्रतिशत बजेट सक्ने गरी कामलाई अगाडि बढाइएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्