पेस्तोलसहित तीन पक्राउ



रौतहट, (नेस)।

अवैध पेस्तोलसहित प्रहरीले रौतहटबाट तीन जनालाई पक्राउ गरेको छ। राजपुर नगरपालिका–३ दमारस्थित आजात चोकबाट प्रहरीले परोहा नगरपालिका–६ का रामआधार साह, परोहा नगरपालिका–४ का छोटेलाल साह र बाराको सुवर्ण गाउँपालिका–६ का उमेश्वर यादवलाई पक्राउ गरेको छ।

बीआर०५एम ७३५३ नम्बरको मोटरसाइकलबाट गौर नगरपालिकाको टिकुलिया जाँदै गरेका उनीहरूको साथबाट कटुवा पेस्तोल गोलीसहित चक्कु दुई थान, सिमसहितको मोबाइल सेट, ठूलो वायर कटर, पेचकस, पिलास, भारतीय ५ सय रुपियाँर नेपाली ५० रुपियाँबरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहट बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले सशस्त्र प्रहरीद्वारा अवैध पेस्तोलसहित बुझाइएकाको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयो। पक्राउ परेका छोटलाल साह यसअघि पनि अवैध हतियारसहित पक्राउ परेको खुल्न आएकोे छ।

प्रतिक्रिया दिनुहोस्