जब आमा नै निर्दयी बनिन्…



वीरगन्ज, (नेस)।

कल्पना गरौं त आफैले जन्म दिएको सन्तान मार्न आमा तयार हुन्छिन् होला ? पर्सामा तरकारीमा विष मिसाएर आफू र परिवारका सदस्यहरूलाई खुवाउँदा वीरगन्जमा आमाको मृत्यु भएको छ भने अन्य पाँच जना परिवारका सदस्य गम्भीर घाइते भएका छन्।

वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी श्रीमती राधिका देवीले गत सोमबार तरकारीमा विष हाली आफू र आफ्नो परिवारका सदस्यलाई खुवाएकी हुन्।

विष प्रयोगबाट गम्भीर घाइते भएकी राधिकालाई उपचारको लागि वीरगन्जको तराई अस्पतालमा ल्याएको थियो। तर, उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी विष प्रयोग गरिएको तरकारी खाँदा राधिकाको तीन वर्षीय छोरा विवेकप्रसाद कुर्मी, जगदीशकी जेठी श्रीमतीका तीन छोरा र एक छोरीसमेत गम्भीर घाइते भएका छन्।

घाइते उनीहरूको तराई अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि वीरगन्जको नेसनल मेडिकल कलेजको आईसियू कक्षमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते हुनेमा २० वर्षीय छोरा राकेश कुर्मी, १९ वर्षीय विकास कुर्मी, १७ वर्षीय मानसा पटेल र १६ वर्षीय विशाल पटेल रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको छ।

गहुँमा किरा मार्न प्रयोग गरिने अल्मुनियम फस्फेट नामक विषादी प्रयोग गरेको चिकित्सकले जनाएका छन्। मृतक राधिकाको शव परीक्षणको लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको पर्साको प्रहरी नायब उपरीक्षक विरेन्द्रबहादुर शाहीले बताउनुभयो। बिहानको खाना कसले पकाउने विषयमा राधिका र सौतेनी पट्टीकी छोरी मानसाबीच झगडा हुँदा घटना निम्तिएको प्रहरीको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस्