सात वर्षपछि कल्पनाको उद्धार



नेपाल समाचारपत्र, जाजरकोट।

बारेकोट गाउँपालिका–५ करुकाकी २५ वर्षीया कल्पना थापाको भारतबाट उद्धार गरिएको छ। मानव सेवाको काम गर्दै आएको भारतको तमाना सिस्टर अफ च्यारेटी (हराएका महिलाहरूको संरक्षण घर) ले भारतको नयाँ दिल्लीबाट उनलाई उद्धार गरेको हो।

सात वर्षदेखि हराएकी कल्पना थापालाई हराएका महिलाहरूको संरक्षण घरमा कार्यरत मन्जुसाको प्रयासमा भारतको नयाँ दिल्लीबाट उद्धार गरेको हो।

मन्जुसाले युवा जागरण विकास केन्द्र, नेपाल जाजरकोटका सहदेव बस्नेत, जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रतिनिधि, बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमा शाहीलगायत सरोकारवालाको रोहवरमा दाइ महेन्द्र थापालाई बुझाइएको हो।

घरबाट कसरी त्यहाँ पुगिन् कसले लग्यो भन्ने कुराको केही जानकारी नभएको बताउने कल्पनालाई तीन वर्ष पहिले २०१७ मे १५ मा नयाँ दिल्लीको गुुरागाउँमा पुलिसले फेला पारेर नयाँ दिल्लीको एक अस्पतालमा उपचार गरी भारतीय प्रहरीले कल्पनालाई देवीलाल बृद्धाश्रममा बुझाएको थियो।

त्यहाँ बृद्धबृद्धाहरूलाई मात्र राख्ने आश्रम भएकाले कल्पनालाई डेविडवल्ड होममा पठाएको मन्जुसाले बताउनुभयो। कल्पना एक वर्षपछि आफू कार्यरत तमाना सिस्टर अफ च्यारेटी (हराएका महिलाहरूको संरक्षण घर)मा न्याय माग्न आएपछि स्मरणशक्ति कम भएकी कल्पना थापालाई एक वर्षसम्म उपचार गरेपछि उनको मानसिक सन्तुलन ठीक भएको थियो।

कल्पनाको स्वास्थ्य पूर्ण रुपमा ठीक नभएकाले स्वास्थ्य ठीक हुनलाई नियामित रुपमा औषधि खानुपर्ने मन्जुसाले बताउनुभयो।मानसिक सन्तुलन ठीक भएपछि कल्पनाले घरमा रहेकी आमालाई सम्झेर नेपाल फर्किने इच्छा गरिन् उनलाई नेपाल फर्काउन कारितास नेपाल नेपालगञ्जमा कार्यरत जनक शर्मासँग सम्पर्क गरी कल्पनाको घर पत्ता लगाउन आग्रह गरेको मन्जुसाले बताउनुभयो।

जाजरकोटको रिम्ना, कार्कीज्युलाको मात्र नाम बताउने कल्पनाको घर कहाँ हो भनेर पत्ता लगाउन कारितास नेपालको सहयोगमा, बालबालिकाको क्षेत्रमा काम गर्दै आएको युवा जागरण विकास केन्द्र नेपाल जाजरकोटका सहदेव बस्नेतसँग सम्पर्क गरेको कारितास नेपाल नेपालगञ्जका व्यवस्थापक जनक शर्माले बताउनुभयो।

शुरुमा घर पत्ता लगाउन समस्या भयो, एउटै संस्थामा काम गर्ने भएपछि बस्नेतको सहयोगमा कल्पना थापालाई अभिभावकसम्म पुर्याउन सफल भएको शर्माले बताउनुभयो।

नेपालमा धेरै महिला दिदीबहिनी हराइरहेको अवस्था छ। केही दिन पहिले नेपालगन्ज खजुराकी एक महिलालाई उद्धार गरी अभिभावकसमक्ष बुझाएको उहाँले बताउनुभयो।

बारेकोट–५ का वडा सदस्य भक्तबहादुर बस्नेतले कल्पनाको वास्तविक नाम देवी थापा भएकाले आपूmसँग सहदेव बस्नेतले सम्पर्क गर्दा त्यस्तो नाम गरेको कोही हराएको छैन भनेपछि फोटो पठाउन आग्रह गरियो। फोटो हेर्दा बारेकोट–५ की हुन् । नेपाल फर्काउनुपर्यो उनी घरबाट सम्पर्कविहीन भएको ७ वर्ष भयो बस्नेतले भन्नुभयो ।

परिवारले उनी घर फर्किने आशा गरेका थिएनन्। घरसम्म ल्याइपुर्याउने संस्थालाई वडा सदस्य बस्नेतले धन्यवाद दिनुभयो। ‘आर्थिक अवस्था कमजोर भएकी कल्पनाको घरमा आमा र दाइ महेन्द्र थापाबाहेक कोही छैनन्, उहाँले भन्नुभयो– ‘उनीहरूलाई बिहानबेलुकाको छाक टार्न गाह्रो छ।’

गाउँपालिकाकी उपाध्यक्ष ओमाकुमारी शाहीले ७ वर्षदेखि हराएकी कल्पनालाई घरसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कल्पनाको उपचारमा लाग्ने खर्च गाउँपालिकाले व्यवस्था गर्ने उपाध्यक्ष शाहीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्