सडकमा मनोमानीविरुद्ध स्थानीय तहको चेतावनी



दोलखा, (नेस)।

भीमेश्वर नगरपालिका–५ को सिंगटी जोड्ने उत्तर दक्षिण छोटो राजमार्ग निर्माण गर्ने सहमति भएकोमा त्यसविपरीत तामाकोशी करिडोरको नाममा सडक बन्न लागेको भन्दै तीन वटा स्थानीय तहले आपत्ति जनाएका छन्। सोमबार तीन वटा स्थानीय तहले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसी, बिगु गाँउपालिकाका प्रमुख युधिष्ठिर खड्का र कालिञ्चोक गाँउपालिकाका प्रमुख विनकुमार थामीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै विगतको सहमतिविपरीत केही व्यक्तिको प्रभावमा डिभिजन सडक कार्यालयमार्फत तामाकोशी करिडोरको नाममा तामाकोशी नदी पारीपट्टीबाट विभिन्न ठाँउमा घुमाउँदै राजमार्ग नभई स्थानीय मार्ग हुने गरी सडकको सर्भे कार्य भइरहेको बताइएको छ।

दोलखाको लामाबगरबाट महोत्तरीको भिटामोडसम्मको नेपालबाट भारत हँुदै चीन जोड्ने छोटो मार्गलाई नै असर पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा गलत ढंगले गरिएको सर्भे तत्काल रोकी पुरानो सहमतिअनुसार नै काम अगाडि बढाउन माग गरिएको छ। जबरजस्ती गरिए त्यसबाट आउने गम्भीर परिणामको जिम्मेवारी डिभिजन सडक कार्यालयले लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्