स्थानीय सरकार हुनु त यस्तो पो !



नेपाल समाचारपत्र, रामेछाप।

रामेछाप नगरपालिकाका नागरिकले सिंहदरबारको अधिकार गाउँगाउँमा बल्ल आएको महसुस गर्न थालेका छन्। रामेछाप नगरपालिका–७ सुकाजोर बिर्तावासीको घरमै पुगेर वडाध्यक्षले जन्म दर्ता, मृत्यु दर्ता, नाता प्रमाणित, जनजाति प्रमाणितको सिफारिस, नागरिकताको सिफारिसलगायतका कागजपत्र बनाइदिएपछि उनीहरूले सिंहदरबारको अधिकार गाउँमा मात्रै होेइन आफ्नै घरमा आएको महसुस गरेका हुन्।

वडा कार्यालयबाट प्रवाह हुने सेवा सुबिधासहितको घुम्ती सेवा शिविरमार्फत गाउँमै नाता प्रमाणित बनेको खुसी व्यक्त गर्दै स्थानीय ढालबहादुर श्रेष्ठले भन्नुभयो– ‘एउटा सिफरिस लिनको लागि ४–५ घण्टा लगाएर वडा कार्यालय जानु पथ्र्यो, त्यही काम पनि बन्ने नबन्ने निश्चित हुँदैन थियो, कुनै बेला त राति उतै बस्नु पर्ने बाध्यता हुन्थ्यो।

हामीले भोट दिएर जिताएका जनप्रतिनिधिले सानो काम पनि आफ्नै गाउँमा आएर गरिदिनु हाम्रालागि धेरै राम्रो हो। बल्ल हामीले स्थानीय सरकार भनेको के रहेछ भन्ने कुराको महसुस गर्न पाएका छौं।’ ९ वर्ष अगाडि सवारी दुर्घटनामा परेर आफू अपांग हुन परेको पीडा सुनाउँदै आफू र आफू जस्ता स्थानीयका लागि गाउँमै आएर सेवा दिने काम अत्यन्तै उपयोगी भएको श्रेष्ठले बताउनुभयो।

त्यस्तै स्थानीय रामबहादुर हायुले भन्नुभयो– ‘गाउँका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत साना बालबच्चाका आमाहरूलाई वडा कार्यालयसम्म जान समस्या हुन्थ्यो। जसको कारण विभिन्न सेवाबाट वञ्चित हुनुपथ्र्याे। यो सेवा गाउँमै आएपछि सहजरूपमा हाम्रो काम भएको छ। यो सेवाले निरन्तता पाओस।’

स्थानीय नागरिकको सहजतालाई ध्यानमा राखेर गाउँमै लगिएको सेवाको बारेमा जानकारी गराउँदै वडा नम्बर ७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले भन्नुभयो– ‘हामी नागरिककै काम गर्नको लागि निर्वाचित भएका हौं, एउटा सिफारिसका लागि वडा कार्यालयमा आउँदा लाग्ने समय, खर्च जस्ता कुरालाई ध्यानमा राखेर महिनाको एक पटक टोल–टोलमा पुगेर सेवा दिनु हाम्रो कर्तव्य पनि ठानेको छौं।

यसरी गाउँमै आएर सेवा दिँदा विभिन्न कारणले सेवा लिनबाट वञ्चित हुनपरेका नागरिकालाई थप टेवा पुग्छ। यो सेवा यस्ता बस्तीका लागि अति उपायोगी भएकाले यसलाई हामी निरन्तरता दिन्छौं।’ वडा कार्यालयबाट टाढा रहेका बस्तीहरूमा आवश्यकताको आधारमा यस्ता शिविर सञ्चालन गरिने वडाध्यक्ष कार्कीले प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो।

सोमबार वडाध्यक्ष समीर कार्की, वडासदस्य दिलबहादुर थापा, वडा सचिव उत्तमकुमार कार्की र प्रविधिक हरीचन्द्र बरालसहित बिर्ता पुगेको टोलीले १५ वटा नागरिकताको सिफरिस, एक/एक वटा जन्मदर्ता, नाता प्रमाणित, विवाह प्रमाणितलगायतका काम गरको छ।
स्थानीय चुनाव हुनुभन्दा पहिला सडकसमेत ठाउँमा अहिले जनप्रतिनिधिकै पहलमा त्यहाँ रहेका सबै बस्तीमा सडक पुगिसकेको छ।

त्यस्तै वडा कार्यलयकै पहलमा विद्युत नपुगेका केही ठाउँहरूमा समेत अहिले विद्युत पुगेर सबै बस्तीका नागरिक उज्यालोमा रमाउन पाएका छन्। त्यति मात्र होइन स्थानीय सरकार आएपछि ती बस्तीमा खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता आधारभूत आवश्यकतासमेत पूरा हुने गरी दीर्घकालीन योजनानै अगाडि बढाएर काम भइरहेको पनि पाइन्छ।

प्रतिक्रिया दिनुहोस्