कर्मचारी नहुँदा सेवाग्राही मर्कामा



नेपाल समाचारपत्र, डोटी।

दिपायल सिलगढी नगरपालिका–४ रापजुरमा स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालय कर्मचारी अभावमा हिजो आज सुनसान जस्तै बनेको छ। कार्यालय स्थापना भएको पाँच वर्ष बितिसक्दासमेत कर्मचारी अभावका कारण पूर्ण रूपमा कार्यालयको सेवा सुचारु हुन सकेको छैन।

सुदूरपश्चिम प्रदेशका डोटी, अछाम र बाजुरालगायतका जिल्लामा हाल दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको हो। आठौं तहका कार्यालय प्रमुख रहने दरबन्दीको संरचना अनुसार स्थापना गरिएको कार्यालयमा गत साउनदेखि कार्यालय प्रमुख नै छैनन्।

संरचना अनुसार आठौं तहको कार्यालय प्रमुख, छैटौं तहको अधिकृत एक, पाँचौं तह एक, चौथो तह एक, मेकानिकल सुपरभाईजर र कार्यालय सहयोगी दुई गरी कुल सात जनाको दरबन्दी रहने कार्यालयमा हाल छैठौं तहको अधिकृत एक, सहायक पाँचौ एक, चौथो तह एक र कार्यालय सहयोगी एक गरी जम्मा चार जनामात्रै कर्मचारी रहेको निमित्त कार्यालय प्रमुख चेतराज भट्टले बताउनुभयो।

‘हामीसँग आवश्यक पर्ने प्राविधिक कर्मचारी छैनन् कर्मचारी नहुँदा कार्यालयले प्रदान गर्न सेवा दिन सकेका छैनौं, उहाँले भन्नुभयो–‘यातायात व्यवस्था सेवा कार्यालय डोटी स्थापना भएको पाँच वर्ष बितिसक्दा पनि यातायात व्यवसायीहरूले सेवा लिन कैलाली जानु पर्ने बाध्यता कायमै छ।’

यातयात व्यवसायीलाई सेवा दिने भन्दै कार्यालय खोलिएको तर गाडीको कागजात रिन्यु गर्न कैलाली जानु पर्ने शैलेश्वरी यातायात व्यवसायी समितिका कर्मचारी टेकबहादुर शाहले बताउनुभयो।

सवारी दर्ता नविकरण, नामसारी, सवारी चालक अनुमतिपत्र जारी र नविकरण गर्न, बाटो इजाजतपत्र जारी र नविकरण गर्न, यातायात सेवापञ्जीकृत, सवारी जाँचपास, सेती अञ्चल यातायात व्यवस्था कार्यालयबाट जारी भएका चालक अनुमतिपत्र नविकरण, पट्के बाटो इजाजत, सवारी अनुगमनलगायतका कार्यहरू गर्नका लागि स्थापना गरिएको भएपनि हाल कार्यालयले चालक अनुमति पत्र नविकरण, बाटो इजाजत नविकरण, पट्के बाटो इजाजत, पञ्जीकरणका काममात्रै गरिरहेको छ।

यातायत सेवा कार्यालयबाट प्रदान हुने अन्य सेवा लिन भने सेवाग्राहीले कैलाली जिल्ला जानुपर्ने बाध्यता रहेको स्थानीयबासीहरू बताउँछन्। त्यस्तै सवारी चालक अनुमति पत्रकोलागि लिईने सीप परीक्षण गर्न र निर्माण गर्न लागिएको ट्रायल सेण्टर निर्माणको काम पनि हालसम्म अधुरै रहेको छ।

गत जेठ मसान्तसम्म निर्माण भईसक्ने र असारदेखि सवारी चालक अनुमति पत्र वितरण गर्ने भन्ने लक्ष्यका साथ निर्माण कार्य भएको सेन्टर तोकिएको समय भन्दा ६ महिना बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन्।

कूल २७ लाख ८१ हजारको लागतमा दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा निर्माण गर्न लागिएको ट्रायल सेण्टरको गत चैत महिनामा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री पठान सिंह बोहराले शिलान्यास गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्