बलेफीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



नेपाल समाचारपत्र, सिन्धुपाल्चोक।

खाडीचौरस्थित सिन्धु सदाबहार अस्पतालले गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको अभियान शुरु गरेको छ। सोमबार बलेफी गाउँपालिका–४ स्थित सेतीदेवी माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सदाबहारले अभियान थालनी गरेको हो।
गाउँमै तीन जना डाक्टर आउँदा सोमबार बलेफी–४ को गहतेका स्थानीयमा खुसियाली छायो।

वर्षौसम्म स्वास्थ्यजाँच नगरेकाले घरआँगनमै निःशुल्क स्वास्थ्य जाँचको अवसर पाए। सिन्धु सदाबहार अस्पतालको आयोजना तथा वडा कार्यालय र सेतीदेवी माविको समन्वयमा सञ्चालित स्वास्थ्य शिविरमा तीन सय ५० भन्दा बढिले सेवा लिएका छन्।

शिविरमा सेतीदेवी मावि, करङगैरा आवि र यस भेगका स्थानीय गरी तीन सय ५४ जनालाई सेवा प्रदान गरिएको सिन्धु सदाबहार अस्पतालका व्यवस्थापन प्रमुख राम आचार्यले जानकारी दिनुभयो।

शिविरमा स्कुले बालबालिकाको रगत परीक्षण गरिएको थियो। स्कुलमै आफ्नो रक्त समुह पहिचान गर्न पाएपछि स्कुले बालबालिकाहरू खुसी देखिन्थे। \स्वास्थ्य शिविरमा अधिकाँश स्थानीयका स्त्रीरोग, छाला तथा हाडजोर्नीका समस्या पहिचान गरी उनीहरूलाई थप उपचारका लागि सुझाइएको छ।

सिन्धु सदाबहार अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर रोशन श्रेष्ठका अनुसार यस भेगमा स्त्रीरोग, हाडजोर्नी र छालारोगका बिरामी धेरै भेटिएका छन्। उनीहरूको रोग पहिचान गरी थप उपचारका लागि परामर्श प्रदान गरिएको छ। सामान्य खालका बिरामीलाई आवश्यता अनुसार औषधीसमेत निःशुल्क रूपमा वितरण गरिएको थियो।

हाडजोर्नी र नसाका समस्या लिएर झण्डै एक सय बिरामीहरू शिविरमा आएको डाक्टर राजु दंगालले बताउनुभयो। रोग पहिचान गरिएका बिरामीलाई अस्पतालमा आउनका लागि आग्रहसमेत गरिएको छ।

‘स्वास्थ्य जाँचका लागि स्थानीयको भीड नै लाग्यो, एक सय हाराहारीमा नसा र हाडजोर्नीका बिरामी पहिचान भएका छन्, डाक्टर दंगालले भन्नुभयो–‘उपचारका लागि उहाँहरूलाई अस्पतालमा आउन आग्रह गरेका छौंं।’

स्वास्थ्यप्रति विद्यार्थीलाई सचेत गराउँनका लागि स्वास्थ्य शिविर संचालन गरिएको सेतीदेवी माविका प्रअ कृष्ण पराजुलीले बताउनुभयो। सिन्धु सदाबहार अस्पतालसँग समन्वय गर्दै आगामी दिनमा वडाका अन्य गाउँबस्तीमा पनि निशुल्क स्वास्थ्य शिविर संचालन गर्दै जाने वडाध्यक्ष तामाङ बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्