अन्तर्राष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा



नेपाल समाचारपत्र, विराटनगर।

विराटनगरमा १७औं अन्तर्र्र्रािष्ट्रय मैथिली सम्मेलन हुने भएको छ। नेपाल र भारतमा फरक–फरक समयमा हुँदै आएको अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको १७औं संस्करणको आयोजनाका लागि मैथिली एसोसिएसन नेपालले तयारी तीव्र पारेको हो।

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रवीणनारायण चौधरीले मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले दुईदिने अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको आयोजना गर्न लागिएको जानकारी दिनुभयो।

उहाँका अनुसार एसोसिएसनले अगामी पुष ६ र ७ गते विराटनरमा १७औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन गर्न लागेको हो। युवापुस्तालाई प्राचीन मैथिली संस्कार तथा संस्कृतिप्रति अभिरूचि बढाउनुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आयोजना हुने सम्मेलनमा मैथिली भाषा, संस्कृति, रहनसहन, पहिरनलगायतमा छलफल तथा विचार–विमर्श हुने बताइएको छ।

नेपाल र भारतका मैथिली भाषाका अगुवाहरूले आफ्नो संस्कृति तथा भाषाको उत्थानका लागि मैथिली विद्धत् व्यक्तित्वका तथा कवि, कलाकारहरूसँग छुट्टाछुट्टै छलफल र विचार–विमर्श गरिने अध्यक्ष चौधरीले बताउनुभयो। नेपाल र भारतसहित अमेरिका, कतारमा रहेका मैथिली भाषाका अभियन्ता तथा संघ–संस्थाका गरी करिब २ सय ५० प्रतिनिधिहरूको सहभागिता रहनेछ उहाँले जानकारी दिनुभयो।

सम्मेलनको पहिलो दिन झाँकी प्रदर्शन गर्नुका साथै मैथिली, भोजपुरी, थारू, राजवंशी, हिन्दी, मारवाडी र नेपाली भाषाका कविहरूद्वारा बहुभाषिक कवि सम्मेलनसँगै मैथिली हाँस्य कविता, गीत–गजल र पारम्परिक नारदी–कीर्तनको आयोजना हुनेछ। त्यस्तै दोस्रो ‘नेपालको संविधान आ छटपटाइत मातृभाषा’ शीर्षकमा छलफल हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

उहाँका अनुसार सम्मेलनका क्रममा स्रष्टाहरूका साथै विभिन्न क्षेत्र ख्याति कमाएका मैथिलभाषी व्यक्तित्वलाई सम्मानसमेत गरिनेछ।
त्यस्तै सम्मेलनमा मैथिली संस्कृति झल्किने विभिन्न प्रकारका स्टलहरूसमेत राखिनेछ। सो क्रममा नेपालको मैथिली क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको जानकारीमूलक चित्रकलाको प्रदर्शनीसमेत गरिनेछ।

सम्मेलनलाई व्यवस्थित रूपमा सञ्चालनका लागि दर्जन बढी उप–समितिसमेत गठन गरिएको बताइएको छ। सम्मेलनको उद्घाटन भने हाटखोला मैदानमा हुनेछ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा राष्ट्रिय पार्टीका अध्यक्ष तथा वरिष्ठ नेताहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्