५ लाख बिरुवा रोप्ने नेपाली सेनाको तयारी



नेपाल समाचारपत्र, बारा।
काठमाडौं तराई मधेस, दु्रतमार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले फास्ट निर्माणको क्रममा काटिएका रुखको क्षेतीपूर्तिवापत पाँच लाख बिरुवा रोप्ने तयारी गरेको छ।

नेपाली सेनाको वृक्षारोपण कार्यदलले आइतबार निजगढको जिरो माइलस्थित बेस क्याम्पमा आयोजना गरेको सरोकारवालाहरूसँगको छलफल कार्यक्रममा प्रमुख सेनानी सुशीलकुमार कार्कीले सो कुराको जानकारी दिनुभएको हो।

हाल कोल्हवी नगरपालिकाको ककडीस्थित पाँच हेक्टर अतिक्रमित जमिनमा वृक्षारोपण गरी सकिएको, निजगढका विभिन्न सामुदायिक वन क्षेत्रबाट वृक्षारोपणका लागि ९१ हेक्टर जमिन प्राप्त भइसकेको र वृक्षारोपणको लागि सेनाले एक सय ११ हेक्टरमा सर्वे पुरा गरिसकेको तथा वृक्षारोपणको लागि आवश्यक थप जमिनको खोजी भइरहेको उहाँले बताउनुभयो।

रुख कटान भएको क्षेत्रमा वृक्षारोपणको लागि प्राथमिकता दिइएको भन्दै निजगढ नगरपालिकाका विभिन्न सामुदायि वनकोे खाली, प्रर्ति र उजाड जमिनमा विरुवा रोप्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो।

पहिलो चरणमा नेपाली सेनाले निजगढस्थित नागमणी, कछडिया, जनहित र बाघ–भैरव सामुदायिक वन समूहको करिव दुई सय हेक्टर वन क्षेत्रमा वृक्षारोपण गर्न लागेको हो।

आयोजना अन्तरगत नेपाल सरकारसँग भएको संझौता अनुसार काटिएको एउटा रुख बराबर क्षेतीपूर्तिमा सेनाले २५ विरुवा रोप्नुपर्ने तथा हेरालु सहित ३ महिनासम्म सिंचाई गरेर विरुवा हुर्काउनुपर्ने छ।

प्रमुख सेनानी कार्कीले आयोजना अन्तरगत करिब २० हजार रुख कटान हुने र ३१५ हेक्टर क्षेत्रमा पाँच लाख विरुवा रोपिने जानकारी दिनुभयो।कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवी लामिछाने, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष एंव वडा नम्बर ७ का अध्यक्ष रामजी बजगाइ, वडा नम्बर ८ का टेकबहादुर लामा, ९ का सुदर्शन कोइराला, १० का अध्यक्ष पद्मबहादुर मोक्तान, डिभिजन वन कार्यालय बाराका प्रमुख मन्जुर अहमद, कछाडिया सामुदायिक वन समुहका अध्यक्ष विरेन्द्र ठाकुर, नागमणी सामुदायिक वन समूहकी उपाध्यक्ष दुर्गा कोइराला, पूर्व अध्यक्ष मिना लामा, पद्मबहादुर भण्डारीलगायतले वृक्षारोपणको आवश्यकता र महत्व बारे बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्