अलपत्र तीनमुखे पुलको तीव्र गतिमा काम शुरू



नेपाल समाचारपत्र, गुल्मी।

निर्माण कार्य सुस्त गतिमा चल्दा अलपत्रमा परेको तीनमुखे पुलको निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ। निर्माण कम्पनीले सुस्त गतिमा काम गर्दा अवधि पुराहुँदासमेत पुल समयमै निर्माण हुन सकेको थिएन।

तीन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा, गुल्मी, स्याङ्जा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीनमुखे पुल लामो समयदेखि निर्माणकार्य नहुँदा सम्पन्न हुनसकेको छैन्।

तर पछिल्लो केही समययता भइरहेको निर्माण कार्यले तिव्रता पाएको छ। नेपालको धार्मिक पर्यटकीय क्षेत्र रहेको गुल्मी जिल्लाको रुरु गाँउपालिका जोड्ने, पाल्पाको रुरु धाम, स्याङ्जाको कारीकोट जोड्ने पुल नेपालकै नमुना झोलुङ्गेपुल निर्माण कम्पनीको ढिलाईले गर्दा निर्माण कार्य हुनसकेको थिएन।

हाल निमार्ण कार्यको ५० प्रतिशत काम भइसकेको निर्माण कम्पनीले जनाएको छ।पुल ०७४ सालको असार ९ गते निर्माण सम्पन्न गर्ने गरी ०७१ मंसिर १५ गते शिलन्यास गरिएको थियो। नेपाल सरकारको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले निर्माणका लागि ठेक्का पाएको थियो। 

कुल नौ करोड ८८ लाख २६ हजार तीन सय ३२ रुपियाँ लागतमा बन्न लागेको पुल निर्माणको जिम्मा नयाँबाटो–रुबिना—मना जेबिले निर्माणको जिम्मा पाएका थियो। तिन वटा कम्पनीहरूले संयुक्त रूपमा उक्त पुल निर्माण गर्न जिम्मा पाएका हुन्।

यही गतिमा काम भए अबको तिन महिनामा निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। पुल निर्माण भएमा त्यस क्षेत्रको धार्मिक र पर्यटकीय विकासमा सहयोग पुग्ने र कालीगण्डकीको करिडोरसँगै रुरु क्षेत्रमा बन्न लागेको पुलले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुर्याउने स्थानीयको भनाई छ।

कुल ५ सय ४० मिटर लम्बाई रहने पुलका प्रत्येक तिनवटा लठ्ठाहरूको लम्बाई १ सय ८० हुने व्यवस्था रहेको छ। कालीगण्डकी नदीको बीचमा झण्डै सात मिटर गोलाई भएको पिल्लर रहेको छ। पुललाई सकेसम्म आकर्षक बनाउने तयारी गरी नक्सा बनाएको छ।

पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाहायो त्यही जिल्लामा जान सक्ने डिजाइन रहेको छ। नेपालमै नमूनाको रूपमा रिडिमा तीन मुखे झोलुङे पुल बन्न थालेकाले गुल्मेलीहरू खुसी भएका छन्।

पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङ्जाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने छन्। पुलका तीन वटै मुख मोटरबाटोको नजिकै रहने छन्।

प्रतिक्रिया दिनुहोस्