नगरपालिकाद्वारा आँधीखोलाको अवैध दोहन



स्याङजा, (नेस)।

वालिङ नगरपालिको अनुमतिमा आँधिखोलाको अवैध दोहन भइरहेको छ। जिल्ला समन्वय समितिले नगरपालिका क्षेत्रमा रहेको आँधिखोलामा अनुगमन गरेपछि नगरपालिकाको अनुमतिमा अवैध दोहन भएको पाइएको हो। नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन (आईई)को मापदण्ड विपरीत उत्खनन तथा निकासी गर्ने अनुमति दिएपछि आँधिखोलामा अवैध दोहन बढेको हो।

नियम विपरीत नगरपालिकाद्वारा नम्बर प्लेट नै नभएको एक्साभेटर उत्खनन कार्यमा प्रयोग गरिएको छ। आँधिखोलाको संरक्षण गर्ने नगरपालिकाको दायित्व भए पनि अवैध तरिकाले उत्खनन् गर्न लिखित अनुमति दिएको पाइएको छ।

आईईको रिपोर्ट अनुसार आठ हजार घनमिटर उत्खनन् गर्न पाइने नियम भएपनि नगरपालिकाको मिलेमतोमा वडा प्रहरी कार्यालयलाई बोधार्थ दिएर ३० हजार घनमिटर उत्खनन् गर्न अनुमति दिएको छ।मेयर दिलीपप्रताप खाँणले नियम अनुसार नै उत्खनन् भएको बताउनुभयो।

खाँणले बुझाईमा समस्या भएको बताउँदै आधिखोलाको संरक्षणमा नगरपालिका पनि लागेको दावी गर्नुभयो। खोलाका माछा लोप हुन थालेपछि यस क्षेत्रका माझीको पेशा हराउन थालेको छ।

आँधीखोलाले सभ्यता नै हराउन थालेपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको रोहोबरमा खोलाभित्र मेशीन चलाउन, साँझ ५ बजेपछि नदीजन्य सामान ओसार पसार गर्न र अनियन्त्रित निकासी गर्ने कार्य रोक्न स्थानीय तहलाई सुझाव दिइएको जिसस महासंघ प्रमुख सीता सुन्दासले बताउनुभयो ।

जिल्लाका ६ वटा स्थानीय तहभित्र पर्ने यस खोलाको संरक्षणभन्दा क्षणिक लाभ लिने प्रवृत्तीले पर्यावरणीय असरमात्र होईन धार्मिक महत्वसमेत ओझेलमा परेको छ।

धार्मिक पात्र श्रवण कुमारको मृत्युसँगै पुत्र वियोगमा अन्धाअन्धी मातापिताले बगाएको अंशुधाराबाट अन्धाअन्धी दह, अन्धाअन्धी खोला हुँदै अपभ्रंस भई आँधीखोला भएको धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ।

 

प्रतिक्रिया दिनुहोस्