अब स्थानीय भाषामै पढाइ हुने



नेपाल समाचारपत्र, गोरखा।

धार्चे गाउँपालिकामा स्थानीय स्तरमा बोलिने भाषामा पढाइ हुने भएको छ। उत्तरी गोरखा तमु समाजको सहयोगमा गाउँपालिकाले प्रकाशन गरेको पाठ्यपुस्तकको एक समारोहबीच शिक्षा मन्त्रालयका सहसचिव कृष्ण काप्रीले बिमोचन गर्नुभयो। गाउँपालिकामा रहेका २४ वटा पूर्वप्राथमिक तहका बालबालिकाको लागि पाठ्यक्रम तयार गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो।

‘स्थानीय मातृभाषाको संरक्षण र प्रवद्र्धन गर्न स्थानीय भाषामा पठनपाठन गर्न लागिएको हो,’ अध्यक्ष गुरुङले भन्नुभयो– ‘पाठ्यक्रम २०७५ सालमा तयार गरिएको थियो। तर स्थानीय शिक्षा नीति बनाउन नसकिएकाले पढाइ भएको थिएन।

अहिले शिक्षा नीति पनि तयार भयो। अब स्थानीय भाषाको पाठ्यपुस्तकमा पढाइ हुन्छ।’ भर्खर सुरु भएकाले सो पाठ्यपुस्तक नेपाली लिपिमा नै लेखिएको छ। अर्को वर्ष स्थानीय खेमा लिपिको पाठ्यपुस्तकमा पढाइ गर्ने तयारी गरिएको उहाँले बताउनुभयो। अहिले बिमोचन भएको पाठ्यपुस्तक एक हजार थान प्रकाशन गरिएको गाउँपालिकाले जनाएको छ।

सबै विद्यालयमा स्थानीय भाषा पढाउने स्रोत शिक्षक राख्ने गाउँपालिकाले योजना बनाएको छ। ‘हामी भाषा र लिपिको बारेमा प्रशिक्षण दिन गाउँपालिका भित्रका सबै विद्यालयका स्रोत शिक्षकहरूलाई तालिम दिनेछौं, अध्यक्ष गुरुङले भन्नुभयो। स्थानीय सरकारलाई दिइएको २२ वटा अधिकार मध्ये स्थानीय पाठ्यक्रम तयार गरी स्थानीय भाषामा पठनपाठन गर्न सकिने व्यवस्था छ।

गुरुङ समुदायले बोल्ने भाषा लेख्नका लागि खेमा भाषा प्रशिक्षण कार्यक्रम पनि सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। आफ्नो भाषा तथा लिपि संरक्षण तथा प्रवद्र्धन गर्न धार्चे गाउँपालिकाले खेमा लिपिमा नै साइनबोर्ड, होर्डिङबोर्ड, लेटरप्याड पनि लेख्ने जनाएको छ।

गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा मन्त्रालयका दरबन्दी मिलान प्रमुख सहसचिव कृष्ण काप्री, नेपाली कांगेस गोरखाका सभापति हरि घले, उत्तरी गोरखा तमु समाजका महासचिव सूर्य गुरुङ, कृषि ज्ञानकेन्द्रकी प्रमुख मनिता थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्मा, वडा नम्बर ७ का अध्यक्ष सूर्यमान गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्