वडा कार्यालयमा आगजनी



संखुवासभा, (नेस)।

मादी नगरपालीका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। बुधबार मध्यराती गरिएको आगजनीबाट ५ नम्बर वडा कार्यालय र सडक निर्माण गर्दा डोजर पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।

आगजनीबाट कार्यालयमा रहेका सम्पूर्ण कागजात, फर्निचर, कम्प्युटरलगायत सम्पूर्ण सामाग्री जलेर नष्ट भएको मादी नगरपालिका प्रमुख विदुर सुब्बाले बताउनुभयो। करिब १२ बजेको समयमा भएको आगजनी नेकपा विप्लव समूहका कार्यकर्ताले गरेको हुन सक्ने आशंका गरिएको छ।

त्यसैगरी गत राती नै करिब १२ बजे सगरमाथा कन्ट्रक्सन कम्पनीले बज्र ग्रुपलाई सडकको काम गर्न दिएको थ्री ट्वान्टी डी टू क्याट एक्साभेटरमा समेत आगजनी भएकोे छ। आगजनीबाट एक्साभेटरमा पूर्ण क्षति पुगेको संखुवासभा प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो। उक्त एक्साभेटर मादी नगरपालिकाको सडक निर्माण गर्दै आएको थियो।

अहिले मादी नगरपालिकालगायत घटना स्थल क्षेत्र आसपास ठूलो संख्यामा सुरक्षा फौज परिचान गरिएको र वडा कार्यालय र डोजर आगजनी गर्ने समूहको खोजि भई रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्