घूससहित दुई प्रहरी पक्राउ

0
Shares

सर्लाही, (नेस)।

सर्लाहीको ब्रह्मपुरीबाट सेवाग्राहीसँग घूस लिदै गर्दा रंगेहात दुईजना प्रहरी पक्राउ परेका छन्। भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइदिने भन्दै सेवाग्राहीसँग ५० हजार घूस लिँदै गर्दा प्रहरी नायब निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले मंगलबार पक्राउ गरेको हो।

प्रहरी चौकी ब्रह्मपुरीमा कार्यरत उनीहरूले भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउँदै गरेका सँग घूस रकम लिँदै गरेको सूचना पाएपछि रकमसहित उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौं पठाएको छ। अख्तियारले उनीहरूलाई पक्राउ गरेपछि केहीबेर अख्तियारको टोली र स्थानीयबीच भनाभनसमेत भएको थियो।