सुर्तीजन्य पदार्थ बिक्री गर्नेलाई कारबाही



नेपाल समाचारपत्र, डोटी।

विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाईने भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्रीवितरण गर्नेलाई कारबाही गर्ने भएको हो।

पछिल्लो समय नगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ। विद्यार्थीहरूलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरिएको बताइएको छ।

विद्यालय वरपर खुलेआम रूपमा सुर्तीजन्य र मादक पदार्थको बिक्रीवितरण हुन थालेको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियानको सुरुवात गरेको हो। विद्यालयवरपर रहेका पसलहरूमा सुर्तिजन्य पदार्थ भए नभएको बारेमा नगरपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्न थालेका छन्।

नगरपालिकाका उपप्रमुख शिवराज खड्काको नेतृत्वमा अनुगमन समितिसमेत गठन गरी नगरपालिकाले दिनहुँ अनुगमन गर्न थालेको छ। विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न नगरपालिकाले सबैमा आग्रह गरेको छ।

नगरपालिकाको आग्रहलाई अटेरगरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रिवितरण गर्नेलाई कानुनी दायरामा ल्याइने नगर उप–प्रमुख शिवराज खड्काले बताउनुभयो। ‘हामीले पहिलो चरणमा विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ नराख्न आग्रह गरेकाछौ’, उहाँले भन्नुभयो–‘हाम्रो आग्रहलाई बेवास्था गर्नेलाई कानुनी दायरामा ल्याउने छौँ।’

विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्रीवितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ।

सुर्तीजन्य पदार्थ तथा सामग्रीको प्रयोगले स–साना विद्यार्थीमा लत बस्ने, भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब सय मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भोजराज शर्माले बताउनुभयो।

‘सुर्तीजन्य पदार्थको प्रयोगले स–साना विद्यार्थीमा नराम्रो असर पर्छ’, उहाँले भन्नुभयो–‘त्यसैले विद्यालय वरपर कहिल्यैे पनि उक्त पदार्थ बेच्ने नगरौँ, अभिभावक पनि सचेत हुनु जरुरी छ।’सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्रीवितरण नगर्न जिल्ला प्रशासन कार्यालय डोटीले यहाँका व्यापारीहरूलाई निर्देशनसमेत दिएको छ।

प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्रिवितरण नगर्न आग्रह गरेको बताउनुभयो। ‘१८ वर्षभन्दामुनिका बालबालिकालाई सुर्तीजन्य र मदिराजन्य पदार्थ नबेच्न सार्वजनिक सूचना निकालेका छौँ, उहाँले भन्नुभयो–‘नियम मिच्ने माथी कडा रूपमा प्रस्तुत हुनेछौँ।’

नगर उप–प्रमुख खड्काले स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यस क्रममा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मदिराजन्य पदार्थ हटाउनका लागि तिब्र रूपमा बजार अनुगमन गरिन लागिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्