प्रजिअ रिजाललाई निलम्बन गर्न अख्तियारको पत्र



नेपाल समाचारपत्र, दोलखा।

दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई मंगलबार पत्र पठाएको छ।

अख्तियारको पत्रमा दोलखाका प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकारभित्रको मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न निजहरूसँग घूस रकम लिएको भन्ने सूचना एवं पत्रपत्रिकामा प्रकाशित समाचारउपर यस आयोगबाट अनुसन्धान भइरहेको र निज खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार गरेको सम्बन्धमा अनुसन्धान भइरहेको अवस्थामा निज पदमा बहाल रहिरहँदा प्रमाण नष्ट गर्ने वा अनुसन्धान र तहकिकातमा बाधा पुर्याउन सक्ने भएको हुँदा निजलाई अख्तियार दुरुपयोग अनुसनधान आयोग ऐन, २०४८ को दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न भन्ने व्यहोरा उल्लेख छ।

दोलाखका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई सार्वजनिक अपराध मुद्दाका प्रतिवादी दोलखा मेलुङ ४ भेड्पुका ४० वर्षीय कुमार लामासँग अवैधानिक ढङ्गले ९० हजार रुपियाँ लिएको आरोप लागेको हो।

उहाँले सार्वजनिक सुरक्षाविरुद्धको मुद्दामा प्रतिवादी दोलखा कालिञ्चोक गाँउपालिका–१ का २८ वर्षीय इन्द्र पाख्रिन र उहाँका ५१ वर्षीय बाबु उदिम तमाङसँग पनि ५० हजार लिएर आउनु भनी ३५ हजार आफूले राखी तल फाँटमा ७ हजारको दरले दुई जनालाई १४ हजारको मात्र रसिद काट्न लगाएको आरोपसमेत लागेको छ।

प्रमुख जिल्ला अधिकारी रिजालले अभियुक्तसँग बढी लिएको स्वीकार गर्दै उक्त रकम पीडितलाई उपचार खर्च या क्षतिपूर्तिबापत दिनुपर्ने हुनसक्ने भएकोले राखेको बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्