ग्वाल्लेकमा शृखलाबद्ध चोरी, स्थानीय आतंकित



नेपाल समाचारपत्र, बैतडी।

गत डेढ महिनायता दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा श्रृंखलाबद्ध चोरीका घटना बढ्दै गएका छन्। कात्तिक १० गतदेखि दिनहुँजसो चोरीका घटना हुने गरेको भए पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

चोरले स्थानीयका घर तथा पसलमा क्षति पुर्याउन थालेपछि स्थानीयवासी हैरान भएको स्थानीय शिवराज जोशीले जानकारी दिनुभयो। यसका साथै चोरले घर तथा पसलको ताल्चा फोडेर केही सामग्री लग्ने गरेको, केही ठाउँमा आगजनी गर्ने गरेको उहाँले बताउनुभयो।

कात्तिक १० गतेयता हालसम्म स्थानीयका १७ घर र पसलबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। भने एउटा बोर्डिङ स्कुलको ताला तोडेर कागजपत्रमा आगजनी गरिएको छ। यस्तै मावि लमौतानजिकै रहेको प्रसूति सेवा केन्द्रको ढोकामा तोडफोड गरिएको छ।

प्रहरी टोली परिचालन

ग्वाल्लेकमा चोरीका घटना बढ्दै गएपछि प्रहरी सहायक निरीक्षक अम्बादत्त जोशीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट १६ जना प्रहरीको टोली सो क्षेत्रमा खटाएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो।

घटना चोरी गर्ने उद्देश्यले नभई आतंक मच्चाउने हिसाबले भइरहेको प्रवक्ता विष्टको भनाइ छ। प्रहरी सहायक निरीक्षक अम्बादत्त जोशी नेतृत्वको प्रहरी टोली खटिएको भए पनि चोरलाई भने समात्न सकिएको छैन। प्रहरीले सादा पोसाकमा गस्ती गरिरहेको जनाइएको छ।

चोरीका घटना बढ्दै गएपछि राति १० बजेपछि गाउँमा हिँड्डुल गर्न रोक लगाइएको छ। शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखेर राति हिँडडुल गर्ने कार्यमा रोक लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्