स्वास्थ्यकर्मी आन्दोलित



नेपाल समाचारपत्र, डोटी।

जिल्लामा रहेका स्वास्थ्यकर्मीहरू मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन्। गत मंगलबार जोरायल गाउँपालिका–१ मा पर्ने खार खोप केन्द्रमा खोप लगाएका प्रविण मल्लको ज्यान गएपछि प्रहरीले स्वास्थ्यकर्मी हिरादत्त भट्टलाई पक्राउ गरेको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्।

नाबालक मल्ललाई डीपीटी पेन्टा खोप लगाएपछि उनको मृत्यु भएको थियो। मृत्युपश्चात पीडित पक्षको किटानी जाहेरीपछि प्रहरीले खोप लगाउने स्वास्थ्यकर्मी भट्टलाई पक्राउ गरेको थियो। आन्दोलित स्वास्थ्यकर्मीहरूले विभिन्न संघर्षका कार्यक्रमहरू सार्वजनिक गर्दै आन्दोलन शुरु गरेका छन्।

जसमा आज मंसिर २४ गते हातमा कालोपट्टी बाँधेर विरोध गर्ने, २५ गते जिल्लाभरि खोप सेवा बन्द गर्ने र पुस १ गतेदेखि जिल्लाभरि आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने योजना रहेको स्वास्थ्यकर्मी हरिष शाहले बताउनुभयो।

‘विना कसुर हाम्रा सहकर्मी पक्राउ परेका छन्, रिहाइको मागसहित हामीले शान्तिपूर्ण आन्दोलनको सुरुआत गरेका छौँ, स्वस्थ्यकर्मी भट्टले भन्नुभयो– ‘हाम्रो आन्दोलनलाई कमजोर नठानियोस्।’ त्यस्तै आन्दोलनरत स्वास्थ्यकर्मीहरूले प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलमार्फत गृह सचिवलाई ज्ञापनपत्रसमेत पठाएका छन्।

गत मंगलबार भएको घटनालाई लिएर आफ्नो कर्तव्य निर्वाह गरिरहेका स्वास्थ्यकर्मी हीरादत्त भट्टलाई पीडित पक्षको किटानी जाहेरीपछि जिल्ला प्रहरी कार्यालले पक्राउ गरी हामी सबै स्वास्थ्यकर्मीको मनोबल खस्काउने काम प्रहरीबाट भएको हुदाँ स्वास्थ्यकर्मी भट्टको रिहाइको माग गर्दछौं उक्त ज्ञापनपत्रमा भनिएको छ।

ज्ञापनपत्रमा भनिएको छ– ‘घटनामा हामी सबै स्वास्थ्य कर्मीहरूबाट पूर्ण रुपमा अनुसन्धानमा सहयोग तथा समन्वय गर्ने भएको हुदाँ घटनामा स्वास्थ्यकर्मीमाथि मुद्दा दर्ता खोप ऐन तथा नियमावलीअनुसार भई अनुसन्धान हुनुपर्ने कुरा उल्लेख गरिएको छ। पीडित पक्षको उजुरीका आधारमा प्रहरीले निज खोप लगाउने स्वास्थ्यकर्मी भट्टमाथि मुद्दा दर्ता गरिसकेको छ।’

प्रतिक्रिया दिनुहोस्