एकैरात चारवटा स्काभेटरमा आगजानी



नेपाल समाचारपत्र, खोटाङ।
खोटाङस्थित मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा सडकखण्ड कालोपत्रेका लागि प्रयोग भइरहेका ४ वटा स्काभेटरमा आगजानी भएको छ। कालोपत्रे प्रक्रिया निर्माणस्थलमा राखिएका गोल्डेन गुड शेर्पा कन्स्ट्रक्सनका चारै वटा स्काभेटरमा शनिबार राति अज्ञात समूहले आगजानी गरेको हो।
सो सडकखण्डमा पर्ने दोर्पाको लप्सेखोला र पंखुखोलामा तीनवटा र चखेवा भन्ज्याङमा एउटा स्काभेटर आगजानी भएको कम्पनीका प्रतिनिधि साङगे शेर्पाले बताउनुभयो। स्काभेटर पूर्णरूपमा जलेर नष्ट भएका छन्। शेर्पाका अनुसार शनिबार राति नौ बजेसम्म निर्माण स्थलमा स्काभेटर प्रयोग गरी काम गरिएको थियो।
स्काभेटरमा राति ११ र १२ बजेबीचमा आगजानी भएको हुनसक्ने अनुमान गरिएको छ। दोर्पास्थित निर्माण स्थलमा स्काभेटरको ट्याङकी पड्केको आवाज कामदारहरूले सुनेपछि आगजानी भएको थाहा पाएको बताइएको छ।
चखेवा भन्ज्याङमा रहेको स्काभेटरमा आगजानी भएको भने आइतबार बिहान थाहा भएको कम्पनीका प्रतिनिधिले जनाएका छन्। स्काभेटरमा आगजानी भएको जानकारी आएलगत्तै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वामदेव गौतमले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्