९१ प्रतिशत मुद्दा फछ्र्योट सम्बन्ध विच्छेदका मुद्दा धेरै



पर्वत, (नेस)।

पर्वत जिल्ला अदालतले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा ९१ मुद्दा फछ्र्योट गरेको छ। चालू आर्थिक वर्षमा नयाँ दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका गरी कुल ३ सय ७ मुद्दा मध्ये ९१ थान मुद्दा फछ्र्योट भएको जिल्ला अदालत पर्वतले जनाएको छ।

पर्वत जिल्ला अदालतले दिएको जानकारीअनुसार गत वर्षका १ सय ८७ मद्दा र यो आर्थिक वर्षका १ सय २० थान नयाँ मुद्दा दर्ता भएको थियो। जम्मा पुनरावेदन दर्ता भएका मुद्दा ३ सय ७ रहेको जिल्ला अदालत पर्वतका स्रेस्तादार जीवनकुमार पौडेलले बताउनुभयो।

त्यस्तैगरी लगातार सुनुवाई हुने मुद्दाअन्तर्गत २५ वटा दर्ता भएकोमा १८ वटा फछ्र्योट भई ७ वटा बाँकी रहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका केही मुद्दा फछ्र्योट हुन बाँकी छन्।

न्याय सम्पादनमा छिटो छरितो सेवा प्रवाह गर्ने रणनीतिअनुसार लक्ष्य भन्दा बढी मुद्दा फछ्र्योट भएको उहाँले जानकारी दिनुभयो।जिल्ला अदालतले दण्ड जरिवानाअन्तर्गत १ करोड ९ लाख ७ हजार ८ सय ८८ रुपियाँ असुल गर्न बाँकी रहेकोमा प्रथम चौमासिकसम्म ४७ हजार ८ सय ७५ रुपियाँ असुल उपर गरिसकेको छ।

भने अझै १ करोड ८ लाख ६० हजार १३ रुपियाँ असुल उपर गर्न बाँकी रहेको अदालतले बताएको छ।त्यस्तै कैदतर्फ ७ सय ४४ वर्ष ६ महिना १९ दिन असुल गर्न बाँकी रहेकोमा चालू आर्थिक वर्षको प्रथम चौमासिकसम्ममा मात्रै २३ महिना ११ दिन असुल उपर गरिएको छ।

भने ७ सय २० वर्ष ८ महिना ८ दिन असुल उपर गर्न बाँकी रहेको अदालतले जनाएको छ। त्यस्तै १७ जना फरार अभियुक्त थुनामा रहेको जसमा १६ पुरुष र १ महिला रहेको अदालतले जनाएको छ।

अहिलेसम्म सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मद्दा दर्ता भएका छन्। वैदेशिक रोजगारिको कारण बढेको पारिवारिक विचलनको कारण सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको हुनसक्ने जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्