पर्वत अस्पतालमा कार्यरत कर्मचारीका सेवासुविधा बढ्यो



नेपाल समाचारपत्र, पर्वत। 

पर्वत जिल्ला अस्पतालमा न्यून पारिश्रमिक र सेवा सुबिधामा कार्यरत कर्मचारीको तलब तथा सेवा सुविधा बढाइएको छ। अस्पताल व्यवस्थापन समितिले न्यून तलब सुबिधामा काम गरेका कर्मचारीलाई नेपाल सरकारले तोकेको न्यूनतम मासिक तलब स्केल सरह सेवा सुबिधा उपलब्ध गराउने निर्णय गरेको हो।

अस्पतालमा नेपाल सरकारले तोकेको न्यूनतम मासिक तलब १३ हजार ४ सय ५० भन्दा कम पारिश्रमिक भएका सबै कर्मचारीको तलब २०७६ साउनदेखि लागू हुनेगरी १३ हजार ४ सय ५० कायम गर्ने निर्णय गरेको छ।

अस्पतालमा ८ हजार, १० हजार मासिक तलबमा समेत कर्मचारीलाई काम लगाइँदै आएको अवस्थामा सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो।

‘लामो समयदेखि न्यून बेतनमा काम गर्ने कर्मचारीलाई प्रोत्साहित गर्न सरकारले तोकेको न्यूनतम मापदण्डअनुसारको तलब सुबिधा दिने निर्णय भएको छ,’ उहाँले भन्नुभयो– ‘न्यून तलबका कारण कर्मचारीको खस्केको मनोबल उकास्न र सेवालाई अझै प्रभावकारी बनाउन यसले सहयोग पुग्ने विश्वास लिएका छौं।’

यसैगरी अस्पताल व्यवस्थापन समितिले अतिरिक्त समय र रात्रीमा ड्युटी गर्दा विगतमा प्रदान गरिँदै आएको १ सय ५० लाई वृद्धि गरी ७ सय ५० कायम गर्ने निर्णय पनि गरेको छ। अतिरिक्त समय र रात्रीमा ड्युटी बस्ने अन्य स्वास्थ्यकर्मीलाई विगतमा प्रदान गरिँदै आएको १ सय लाई वृद्धि गरी २ सय ५० कायम गरिएको छ।

रातको समयमा काम गर्दा न्यूनतम भत्ता भएकाले रात्रीकालीन सेवा प्रभावकारी नभएको गुनासो आएको थियो। विभिन्न कार्यक्रमअन्तर्गत समितिको नियुक्तीमा करारमा रहेका सबै कर्मचारीको मासिक तलब वृद्धि गरी नेपाल सरकारका स्थायी कर्मचारी सरह बनाउने निर्णय पनि भएको अध्यक्ष पहाडीले बताउनुभयो।

लामो समयदेखि पर्वत अस्पताल आम्दानी भन्दा खर्च बढी हुने अवस्थाबाट गुज्रिरहेको थियो। यस्तो अवस्थामा यी निर्णयहरू सम्भव बनाउनका लागि समितिले गत वर्षदेखि अस्पतालका सबै आम्दानी र खर्चलाई पारदर्शी र व्यवस्थित बनाउन लेखामा सफ्टवेयर जडान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्