महिला हिंसाविरुद्धको १६ दिने अभियान : बाबुले गरे छोरीको बलात्कार



नेपाल समाचारपत्र, बाँके।

महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहदा बाँकेमा हाडनाता करणीको जघन्य अपराध बाहिर आएको छ। बाबुले १६ वर्षकी आफ्नै छोरीलाई करणी गरेका छन्। मदिरा सेवन गरी श्रीमतीलाई कुटपिट गरेर लखेटेपछि ४२ वर्षका बाबुले राति छोरीलाई कुकर्म गरेको उजुरी परेको छ। उजुरी अहिले परे पनि घटना असार दोस्रो साताको हो।

उनले धम्क्याएर जबरजस्ती गरे। कही कसैलाई भने घरपरिवारका सबै सदस्यलाई मारिदिने धम्की आएपछि छोरी चुप लागिन्।

घटना विवरणअनुसार, असार ४ गते सदाझै उनी मदिरा सेवन गरेर आए। श्रीमतीसँग झगडा भइरहन्थ्यो। त्यो दिन पनि झगडा भयो। श्रीमतीलाई कुटपिट गरे। कति कुटाइ नसहने भन्दै श्रीमती माइती हिँडिन। दुई छोरी घरमै थिए। छोरीहरू छुट्टाछुट्टै सुत्थे।

बाबु बाहिर गोठमा खाट राखेर सुत्ने गर्दथे। श्रीमती माइती गएको एक हप्तापछि राति ११ बजेतिर बाबु एक्कासी छोरीको कोठामा पसे। छोरी चिच्याइन्। उनले धम्क्याएर जबरजस्ती गरे। कही कसैलाई भने घरपरिवारका सबै सदस्यलाई मारिदिने धम्की आएपछि छोरी चुप लागिन्।

कुटिएपछि रिसाएर माइती गएकी श्रीमती एक महिनापछि घरमा आइन्। आमा घरमा आएपछि छोरीले सबै कुरा बताइन। के गर्ने, कसो गर्ने उकुसमुकुस भयो। आफन्तसँग पनि सल्लाह भयो। सबैले ‘यस्तालाई त्यत्तिकै छोड्नु हुँदैन’ भन्ने राय दिए। यद्यपि, प्रहरी कार्यालयमा उजुरी गरिएको थिएन।

गत सोमबार फेरि उनले श्रीमतीलाई कुटपिट गरे। प्रहरीलाई खबर भयो। प्रहरी घरमा पुग्यो। मदिरा सेवनसँगैको झगडा भएकाले ‘एकछिन धम्क्याइ–धुम्क्याई’ गरेर छोड्ने प्रहरीको मनसाय थियो।

इलाका प्रहरी कार्यालय, धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पोषणराज थपलियाले भन्नुभयो– ‘घर झगडा थियो, एकछिन डर देखाई परिवारमा मिलन गराएर छोडिदिनुपर्ला भन्ने सोचेको थिएँ, तर कुरा यत्तिमात्रै छैन सर भनेर श्रीमती बोलिन्। राति परिसकेको थियो, कुरा अरु पनि गम्भीर छ भनेपछि हामीले उनलाई लिएर आयौं।’

मंगलबार घरपरिवारका अन्य सदस्यहरू इलाका प्रहरी कार्यालय, धनौलीमा आए। स्थानीय जनप्रतिनिधि र छिमेकीहरू पनि थिए। श्रीमती र छोरीले समेत हाडनाताको आरोप लगाएन्।

हाडनाता करणीको कुरा आएपछि प्रहरी निरीक्षक थपलिया झस्किए। मदिरा सेवन गरेर सधैं कुटपिट गरिरहने भएकाले आरोप लगाएको हो कि भनेर थपलियाले बच्चीलाई राम्ररी सोधें। उनले हो नै भनिरहिन्। त्यसपछि जाहेरी दिन लगाइयो।

बुधबार उनीहरूले जाहेरी दिए। त्यो जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय, धनौलीले हाडनाता करणीमा मुद्दा प्रक्रिया अघि बढाएको छ। प्रहरीले बुधबार नै अदालतबाट उनीविरुद्ध सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

एउटी बच्चीले विश्वास, भरोसा र सुरक्षा कोबाट पाउँछिन् ? अभिभावक, परिवार वा आफन्तीबाट। बुबा नै यस्तो कुकर्ममा लागेपछि कसको विश्वास गर्नु ? समाज अपराधीकरण हुँदै गएको नमुना हो यो।

चालू आर्थिक वर्षको चार महिनामा बाँकेमा जबरजस्ती करणीका २८ वटा मुद्दा दर्ता भएका छन्। चार वटा करणी उद्योगका मुद्दा छन्। प्रहरीका अनुसार, अधिकांश आफन्त, चिनेजाने, छिमेकीबाट अपराध भएका छन्।

बाँकेमा घरेलु हिंसा अधिक रहेको छ। चालू आर्थिक वर्षको चार महिनामा २ सय २ वटा जाहेरी परेका छन्। घरेलु हिंसा बिस्तारै अपराधमा परिणत भइरहेका छन्। ९० प्रतिशत घरेलु हिंसाको कारक मदिरा हुने गरेको प्रहरी निरीक्षक थपलिया बताउनुहुन्छ। ‘मदिराले हिंसा र अपराध बढाएको छ, प्रहरी निरीक्षक थपलियाले भन्नुभयो, सधैंको झगडा, किचकिच अपराधमा परिणत हुने गरेका छन्।’

 

प्रतिक्रिया दिनुहोस्