छोएन उपचुनावले थवाङलाई



महेश न्यौपाने, रोल्पा।

मतदानको मिति नजिकिए पनि रोल्पा थवाङ गाउँपालिका–१ को उपनिर्वाचनमा कुनै उत्साह देखिँदैन। मनोनयन दर्ताको दिन थवाङबारिहबाट गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेता कार्यकर्ता उपस्थितिले निर्वाचनको माहोल देखिए पनि उनीहरू त्यहाँबाट फर्किएसँगै चुनावी वातवारण सुनसान देखिएको हो।

सो वडाको निर्वाचनका लागि नेपाली कांग्रेसले कलमरोकामगरलाई र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनक बुढामगरलाई उम्मेदवार बनाएको छ। मनोनयन दर्ता गर्दा वडा सदस्यबाट राजीनामा दिएर भद्रकुमार झाँक्रीले समेत स्वतन्त्र उम्मेदवारी दिएका थिए।

सर्वसम्मत अध्यक्ष चयन हुन नसकेको भन्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि चुनावी मैदानमा नेकपा र नेपाली कांग्रेसका उम्मेदवारमात्र देखिएका छन। रोल्पामा कम्युनिस्ट पार्टीको विजारोपण गरेको थवाङले हरेक निर्वाचनमा फरक फरक पहिचान दिँदै आएको छ।

देशमा हुने हरेक निर्वाचनमा थवाङ चर्चामा रहने गर्छ। २०३८ सालको पञ्चायती निर्वाचन पहिलो पटक बहिष्कार गरेको थवाङले बहुदल प्राप्तिपछिका निर्वाचनसमेत बहिष्कार गरेको थियो।

खासगरी २०५२ साल फाल्गुन १ गते तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र युद्ध कालमा राज्यले गरेका सबै निर्वाचन बहिष्कार गरेको थियो। माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन संविधान सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाललाई सबै भोट दिएको थवाङले २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा भने शून्य मतदान गरेको थियो।

संविधान सभाबाट संविधान घोषणापछि भएको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा भने थवाङको मत विभाजित भएको थियो। १ हजार २ सय ८० मतदाता संख्या रहेको उक्त वडाको निर्वाचन प्रतिस्पर्धामा उत्रिएका नेकपा र नेपाली कांग्रेस दुवैले प्रचारप्रसार गरेको देखिँदैन स्थानीय अजय घर्तीले भन्नुभयो।

यता सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भने घरदैलो कार्यक्रमलाई जोडिरहेको बताएको छ। मतदातासँग घरमै गएर भेटघाट गर्ने काम भइहरेको नेकपाका एक कार्यकर्ताले भने।

नेपाली कांग्रेस रोल्पाबाट उक्त निर्वाचनका लागि संयोजक तोकिएका जिल्ला कोषाध्यक्ष खटकबहादुर खत्रीले दुवै दलको प्रचारात्मक गतिविधि शून्य जस्तै रहेको स्वीकार्नु हुन्छ। घरदैलो भेटघाटलाई स्थानीय कार्यकर्ताले जोडिरहेको खत्रीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्