गुल्मीमा पाँचौं उद्योग दिवसमा २० जना उद्यमी सम्मानित



नेपाल समाचारपत्र, गुल्मी। 

गुल्मीमा ५औं उद्योग दिवसको अवसरमा २० जना उद्यामी सम्मनित भएका छन्। घरेलु तथा साना उद्योग विकास समिति गुल्मीको आयोजनामा सदरमुकाम तम्घासमा एक कार्यक्रमको आयोजना गरेर उद्योग दिवस मनाइएको हो।

दिवसको अवसरका जिल्लामा सिलाइ कटाइ, हुजीवारी, ढाका उद्योग, डेरी उद्योग, फलफूल तथा अचार उद्योग, क्रिस्टलका गहना, ब्युटी पार्लर, चाउमिन उद्योग, बेकरीज, स्क्रीन्ट प्रिन्टलगायतका व्यवसाय गर्ने २० जना व्यवसायीलाई सम्मान गरिएको छ। सम्मानित भएका व्यवसायीलाई कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सम्मान गर्नुभएको हो।

‘उद्योग र पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ राखिएको कार्यक्रममा विभिन्न उद्यमीको सहभागिता रहेको थियो। प्रमुख अतिथि पराजुलीले जिल्लामा साना उद्योगलाई विकास गरी आम्दानीको स्रोत बढाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो।

गुल्मीको समृद्धिका लागि कृषि र पशुपालनको क्षेत्रमा योगदान गर्नुपर्नेमा उहाँको भनाइ छ। विगतमा शान्ति सुरक्षाको कारण लगानीमैत्री वातावरण नहुँदा उद्योग धन्दाहरू धरासाही बनेर बन्द भएकाले निर्यात घटेर आयात बढेको बताउनुभयो। उत्पादन भएको वस्तुले बजार नपाउने समस्या हटेकाले साना तथा ठूला उद्योगतर्फ लाग्नुपर्नेमा पराजुलीले जोड दिनुभयो।

जिल्लामा कृषि र पर्यटनको क्षेत्रबाट समृद्धि ल्याउन सकिने भएकाले कृषि क्षेत्रमा उत्पादन बढाएर आर्थिक स्थितिलाई बलियो बनाउनुपर्ने पराजुलीको भनाइ छ।
जिल्लामा घरेलु उद्योगको क्षेत्रमा कसरी कार्यक्रमको समन्वय गर्ने बारे जिल्लाका ८ वटा स्थानीय तहमा छलफल गरिसकेको घरेलु तथा साना उद्योग विकास समिति गुल्मीका वरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताउनुभयो।

जिल्ला रहेका स्थानीय तहको सहभागितामा उद्योगीलाई सहयोग र विभिन्न सीपमुलक तालिमलगायत गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम जस्ता क्षेत्रमा काम गरिरहेको वरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्