लामिखालवासीको बिजुली बाल्ने सपना अधुरै



विमल विष्ट, डोटी।

डोटी जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी हुनुभयो। उहाँ गाउँमै बस्नुहुन्छ। गाउँमै बस्ने भएकाले उहाँलाई विद्युतको विषयमा खासै जानकारी छैन। विगत १६ वर्षअघि अर्थात् विस २०६२ सालमा गाउँमा विद्युतका पोल गाड्न शुरू हुँदा उहाँलाई घरमा बिजुली बलेको हेर्ने ठूलो धोको थियो।

एक दुई पटक मात्रै विद्युत भएका शहरसम्म आउजाउ गरेकी उहाँलाई आफ्नो गाउँ पनि झिलिमिली भएको हेर्ने रहर जागेको थियो। विद्युत विस्तारका लागि पोल गाडेको १६ वर्ष पूरा भयो। तर सीताको सपना भने अझै पूरा भएको छैन्। अब त उहाँले गाउँमा आफू बाचुञ्जेल गाउँमा विद्युत बल्छ भन्ने आशा पनि मारिसकेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘गाउँ घरमा बत्ती बलेको, गाउँ झिलिमिलि भएको हेर्ने ठूलो धोको थियो त्यो धोको अर्को जुनीमा मात्रै देख्न पाइने जस्तो भएको छ।’

आर्थिक वर्ष २०६२–०६३ को बजेटबाट साविकको लामिखाल गाउँ विकास समितिले विद्युतीकरणका लागि १४ लाख रुपियाँ विनियोजन गर्यो। उक्त रकमबाट पोल खरिद भए र ठाउँठाउँमा पोल पनि गाडिए। विस २०६४–०६५ बाट लामिखालको विद्युतीकरण केन्द्रीय योजनामा समावेश पनि भयो। प्रत्येक वर्ष बजेट आयो पनि, तर काम भने कहिल्यै पूरा भएन।

प्रत्येक वर्ष ठेक्का हुने, ठेकेदारले सडक पहुँच भएका ठाउँहरूमा मात्रै काम गर्ने तर लामिखालमा भने वास्तै नगर्ने गरेको स्थानीयवासीको आरोप छ। ठेकेदारको लापर्बाहीका कारण लामिखालवासीको बत्ती बाल्ने सपना सधैं अधुरै रहेको स्थानीय वीरबहादुर रोकायाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘विद्युत विस्तारका लागि गतवर्ष मात्रै रु ६५ लाख रकम विनियोजन भएको थियो, कति काम भयो कति बजेट फ्रिज भयो हामीलाई केही थाह छैन।’

उहाँले विद्युत प्राधिकरणमा कामै नगरी ठेकेदारहरूले बिल मिलाएर खाने गरेको आरोपसमेत लगाउनुभएको छ। विगत १६ वर्षको यो अवधिमा आफूहरूले पटक पटक ठेकेदारसँग आग्रह गरेको र पटक पटक विद्युत प्राधिकरणको दीपायल कार्यालय धाएको सम्झँदै रोकायाले थप भन्नुभयो– ‘हाम्रो आवाज कसैले सुन्दैनन्, विद्युत विस्तारका लागि कसैले पनि अहिलेसम्म पहल गरेनन्।’ उता सोही लामिखालका अर्का स्थानीय नरबहादुर रोकायाको पनि यस्तै गुनासो छ।

आदर्श गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले गाउँपालिकाका अध्यक्षलाई प्रश्न गर्नुभयो– ‘हामी कहिलेसम्म बत्ती बाल्न पाउँछौं ?’ उहाँको जवाफमा गाउँपालिका अध्यक्ष टेकबहादुर रोकायाले भन्नुभयो– ‘मैले विद्युत कार्यालयसँग पनि समन्वय गरेको छु, यस आर्थिक वर्षभित्रै लामिखालमा बत्ती बल्छ।’

कात्तिक २४ गते विद्युत प्राधिकरणको दीपायलस्थित कार्यालयमा गएर विद्युत विस्तारका लागि पुनःस्मरण गराएको स्थानीय धर्म रोकायाले बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले छिटो बत्ती बाल्नु पर्यो भनेर अनुरोध गरेका छौं, हाकिम सावले पनि आश्वासन दिनु भएको छ। यदि फेरि पनि विगत जस्तै लम्ब्याउने काम भयो भने बाध्य भएर आन्दोलन गर्ने छौं।’

उता नेपाल विद्युत प्राधिकरण दिपायल शाखाका प्रमुख कपिलदेव जोशीले आगामी चैत्र महिनाभित्रै बत्ती बाल्ने गरी लामिखाल क्षेत्रमा काम भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘विगतमा गोपघाटबाट लाइन तान्ने गरी सर्वे भएको रहेछ, जंगल विवादका कारण उताबाट लाइन तान्न नसकिएको भन्ने मैले जानकारी पाएको छु, अब अन्तैबाट लाइन तानेर भएपनि चैत्र महिना भित्रमै विद्युत बालेर छोड्छौं।’

विद्युत विस्तार नभएका कारण आदर्श गाउँपालिका–५ वर्षौदेखि अन्धकारमा रहेको रहेको छ। उज्यालोका लागि त्यहाँका स्थानीय अहिले पनि सल्लाको दियालोको भरमा आश्रित रहेको युवा संघका सदस्य गणेशबहादुर ऐरले बताउनुभयो। उहाँले भन्नुभयो– ‘छिमेकी गाउँपालिका तथा हाम्रै गाउँपालिकाका केही वडाहरू झिलिमिली छन्, हामी ५ नम्बर वडावासी सल्लाको दियालोको भरमा कहिलेसम्म रहने ?’

प्रतिक्रिया दिनुहोस्