बुद्ध एयरले विराटनगर–भद्रपुर–पोखरा प्रादेशिक उडान गर्ने



सरोज यादव, विराटनगर। 

प्रदेश १ का २ विमानस्थलबाट अन्तर प्रादेशिक उडान हुने भएको छ। प्रदेश–१ को राजधानी विराटनगर र झापाको भद्रपुर विमानस्थलबाट गण्डकी प्रदेशको राजधानी पोखरासम्म बुद्ध एयरले सिधा उडान भर्ने भएको हो। आइतबार साँझ विराटनगरमा आयोजित एक कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले सातामा तीन पटकसम्मको उडान भर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

बस्नेतका अनुसार परीक्षण उडान आगामी जनवरी १ तारिखदेखि गर्ने तयारी छ। परीक्षण उडान ६ महिनाको हुनेछ। पहिलो चरणमा काठमाडौंलाई ट्रान्जिट बनाएर उडान भरिनेछ। ‘हप्तामा २ सय यात्रु भए भने हामी सातामा ३ वटा सिधा उडान विराटनगर–पोखरा रुटमा भर्न सक्छौं,’ उहाँले थप्नुभयो– ‘तत्कालका लागि काठमाडौंलाई ट्रान्जिट बनाएर उडान भर्नेछौं।’

कार्यक्रममा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियैत सहभागी हुनुभएको थियो। मुख्यमन्त्री राईले अन्तर प्रादेशिक सिधा उडानले पर्यटनको विकासमा सहयोग पुग्ने बताउनुभयो।

‘एउटा सानो सपना पूरा भएको छ,’ मुख्यमन्त्री राईले भन्नुभयो– ‘अब अर्को ठूलो सपना छ त्यो पनि पूरा हुन्छ भन्ने विश्वास छ।’ उहाँले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रदेश सरकारको सपना पूरा गरेरै छोड्ने बताउनुभयो। त्यसका लागि केन्द्र सरकारका पर्यटन मन्त्रीसहितको बैठक चाँडै विराटनगरमा बस्ने तयारी भएको जानकारी गराउनुभयो।

मुख्यमन्त्री राईले यो उडानमा आउन सक्ने चुनौती भनेका प्रभावकारिता, नियमितता र दिगोपन भएकाले यसतर्फ एयरलाइन्सलाई सजक रहन आग्रह गर्नुभयो। कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले प्रदेश–१ मा पर्यटनका धेरै सम्भावना भए पनि काठमाडांै र पोखरा आएका पर्यटकलाई यहाँसम्म ल्याउन सक्नुपर्ने बताउनुभयो।

‘भारतको विहारमा आज हामीले सोचेभन्दा बढी आर्थिक वृद्धि गरिसकेको छ,’ उहाँले भन्नुभयो– ‘त्यहाँका पर्यटकलाई ल्याउनेतर्फ प्रदेश सरकारको ध्यान गएको छ।’
यतिका जनसंख्या भएको विहारलाई मात्र आकर्षण गर्न सके पर्यटनको विकासमा धेरै टेवा पुग्ने उहाँको भनाइ थियो। मन्त्री कुसियैतले नेपालीमा पनि खर्च गर्ने बानीको विकास भइरहेकाले विराटनगर र भद्रपुरबाट सिधा पोखरा जाने यात्रु हुदैनन् कि भन्ने चिन्ता नगर्न आग्रह गर्नुभयो।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश–१ मा अहिले पनि १३ वटा विमानस्थल चालू अवस्थामा रहेको भन्दै पहाडी क्षेत्रतर्फका उडानलाई पनि प्राथमिकतामा राख्न नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सलाई आग्रह गर्नुभयो।

आन्तरिक पर्यटकको संख्या दिनानुदिन बढिरहेको भन्दै सेवालाई सहज बनाए उपयोग गर्नेको कमी नहुने तर्क राख्नुभयो। उहाँले विराटनगरबाट भारतको दिल्लीका लागि सिधा उडानको समेत सम्भावना रहेको बताउनुभयो। ‘मैले नेपाल एयरलाइन्ससँग पनि कुरा गरें। तर सरकारी नै भएकाले धेरै कुरा नगरौं निजी क्षेत्रले यो उडान राख्ने हो भने राम्रै फाइदा हुन्छ,’ उहाँले थप्नुभयो– ‘अहिले यो क्षेत्रबाट उपचार, शिक्षा र व्यावसायिक कामका लागि जानेको संख्या धेरै छ।’

कार्यक्रम पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले यात्रु सिधा आउने र जानेभन्दा पनि कसरी विराटनगरमा एक रात भए पनि राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो। मुक्तिनाथ र बराह क्षेत्रलाई जोड्ने हो भने प्रदेश–१ को पर्यटन विकासमा बल पुग्ने उहाँको कथन थियो। ‘मुक्तिनाथमा अधिकांश बाह्य पर्यटक दक्षिणी भारतबाट आउने गरेका छन्,’ उहाँले भन्नुभयो– ‘मुक्तिनाथ आउने पर्यटकलाई बराह क्षेत्र ल्याउने वातावरण बनाउनुपर्छ।’

उहाँले विराटनगर–पोखरा पहिलो र पोखरा–विराटनगरको फ्लाइट अन्तिम राख्नुपर्नेमा जोड दिनुभयो। बुद्ध एयरका प्रबन्ध निर्देशक बस्नेतले आफू पनि प्रदेश–१ को बासिन्दा भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेको भन्दै विराटनगरवाट पोखराको सिधा उडान करिब ५० मिनेटको हुने बताउनुभयो।

उहाँले अहिले भाडा दर तय नगरिसकेको जानकारी दिनुभयो। बुद्ध एयरले हाल विराटनगर–काठमाडौं ८, काठमाडौं–पोखरा १० र भद्रपुर–काठमाडौं ३ वटा उडान भर्दै आएको छ। विराटनगरबाट अन्तर प्रादेशिक उडानका लागि लामो समयदेखि यस क्षेत्रका उद्योगी–व्यवसायी र राजनीतिक दलहरूले आवाज उठाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्