बालसुधार गृह फुटाएर भागे थुनामा रहेका दुई बालक



विराटनगर, (नेस)।

अदालतको आदेशबाट पूर्पक्षमा रहेका दुई बालक विराटनगरमा रहेको बालसुधार गृहको झ्याल फुटाएर भागेका छन्। गृहमा २४ घण्टा नै प्रहरीको सुरक्षा हुन्छ। सोमबार बिहान ४ देखि ५ बजेको बीचमा गृहको तेस्रो तलाको झ्यालको ग्रिल निकाल्दै पछाडिबाट हामफालेर उनीहरू फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताउनुभयो।

फरार भएका दुवैजना गत असार र साउनबाट सुधार गृहमा थिए। भागेका मध्ये मोरङको सुन्दरहरैंचा नगरपालिका–७ का १७ वर्षीय बालक जवरजस्ती करणी मुद्दामा अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा थिए। झापा गौरादह नगरपालिका–१ का १६ वर्षीय बालक ज्यान मार्ने उद्योग मुद्दामा पूर्पक्षमै थिए।

बालकहरू फरार भएको विषयमा अनुसन्धान थालिएको डीएसपी खिँउजुले बताउनुभयो। लापरबाहीले उनीहरू भागेको पत्ता लागेर लापरबाही गर्नेलाई कारबाही गरिने उहाँको भनाइ छ। फरार रहेका बालकहरूको खोजी व्यापक बनाइएको प्रहरीले जनाएको छ।

गृहको सुरक्षाका लागि असई (प्रहरी सहायक निरीक्षक) टीका राईको नेतृृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो। त्यहाँ २४ घण्टा नै प्रहरीको सुरक्षा हुन्छ। अपराधिक घटनामा संलग्न बालकहरूलाई राख्ने गरिएको विराटनगर महानगरपालिका–४ मा रहेको यस्तो बालसुधारगृह प्रदेश १ मा एउटा मात्रै छ।

मोरङ र सुनसरीमा भएका अपराधमा संलग्न बालकहरूका हकमा प्रहरीले अनुसन्धान पनि त्यहीँबाट गर्ने गरेको छ। प्रदेश १ का अरु १२ जिल्लाको हकमा टाढा पर्ने भएकाले अदालतले थुनामा पठाएका र सजाय तोकेका बालकहरू मात्रै राख्ने गरिएको छ।

क्षमताभन्दा बढी थुनुवा रहेका र कैद सजाय भुक्तान गरिरहेका बालकहरू भएकाले मनोरञ्जन कक्षमा पनि सुताउने गरिएको र दुई बालक त्यही कक्षबाट फरार भएको गृहका इन्चार्ज मिलन चौहानले बताउनुभयो।

‘उनीहरूले गृहको कम्पाउन्डभन्दा बाहिर पुग्ने गरी तीन तलामाथिबाट हामफालेको पाइयो,’ उहाँले भन्नुभयो– ‘सुधारगृहपछाडि भर्खर राखिएको नयाँ माटोमा दुई जनाको खुट्टा गाडिएको डाम प्रष्टसँग देख्न सकिन्छ।’ उहाँले पछाडिबाट भागेका कारण प्रहरीले घटनाका बारेमा थाहा नपाएको जानकारी दिनुभयो। ५० जना क्षमताको बालसुधार गृहमा अहिले एक सय ४८ जना बालकहरू छन्।

प्रतिक्रिया दिनुहोस्