कोहलपुर–६ निर्वाचन ‘प्रतिष्ठा’को लडाइ



नेपाल समाचारपत्र, बाँके।

बाँकेको कोहलपुर–६, रझेनामा उपनिर्वाचन हुँदैछ। अहिलेसम्म त्यहाँ पुगेका ‘हाइ प्रोफाइल’ र जिल्लाका नेताको दौडधुपलाई हेर्दा वडाध्यक्षको मात्रै चुनाव हो र ? भन्ने लाग्न सक्छ।

रझेनाको माहौलले के देखाउँछ भने त्यहाँ वडाध्यक्षको चुनाव भइरहेको छैन कि नेकपा र कांगे्रसका बीचमा ‘प्रतिष्ठा’को लडाइ भइरहेको छ।

रझेना कांगे्रसले जितेको ठाउँ हो। अनि, कोहलपुरकी उपमेयर सञ्जु चौधरीको घर। चुनाव जितेको अनि उपमेयरको ठाउँ भएकाले नेकपाले परिणाम उल्टाउन र उपमेयरलाई ‘देखाइदिन’ सक्दो बल प्रयोग गरिरहेको छ।

कांग्रेस आफैलाई विगतको ‘जीत’लाई जोगाइराख्न पनि चुनौती रहेको छ। त्यसका बाबजुद दुई तिहाईको सरकारमात्रै होइन, नेकपाको कोहलपुर नगरपालिकाको बहुमतको अगाडि आफ्नो प्रतिष्ठालाई बचाइराख्नु परेको छ।

गत निर्वाचनमा कांग्रेसका रामसोहन थारूले ४ सय २४ मत ल्याएर वडाध्यक्ष जित्नुभएको थियो। २०७५ मंसिर ९ गते थारूको असामयिक निधन भयो। अहिले कांग्रेसले कृष्ण थारूलाई अगाडि सारेको छ। त्यतिबेला नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धा गरेका थिए।

एमालेका श्रीराम थारूले ३ सय ५२ मत ल्याउदा माओवादीका रामशरण थारुले २ सय ७३ मत ल्याउनुभएको थियो। पार्टी एकीकरण भएपछि गएको चुनावमा माओवादीबाट चुनाव लडेका रामशरण थारू नेकपाको उम्मेदवार हुनुभएको छ।

त्यतिबेला दुई पार्टीका उम्मेदवारले ल्याएको मतलाई जोड्दा नेकपाको उम्मेदवार बलियो देखिन्छन्। कांग्रेसमा पनि विजय गच्छदारको पार्टी मिसिएको छ।

गच्छदारको पार्टीबाट वडाध्यक्षको उम्मेदवार बनेका शुभाखर पोखरेलले यसअघि ५६ मत ल्याए पनि मेयरका उम्मेदवार दिनुभएको फूलाराम थारूले रझेनाबाट धेरै मत पाउनुभएको थियो। कांग्रेसले फूलारामले ल्याएको मतलाई आफ्नो मानेको छ।

१ हजार ९ सय ६४ मतदाता रहेकोमा अहिले २ हजार ३६ पुगेका छन्। अलिकति नयाँ मतदाता थपिएका छन्। नयाँ थपिएकालाई नेकपा र कांग्रेसले आफ्नो ‘बढी’ मानिरहेका छन्। नेकपा र कांग्रेसको लडाइको बीचबाट आफू अगाडि निस्किने राप्रपाका युवा नेता एवं उम्मेदवार श्रीधर सुवेदी दाबी गर्नुहुन्छ।

कोहलपुरमा वडाध्यक्ष भन्दा पनि प्रतिष्ठाको लडाइ भएको पत्रकार भीम रावत बताउनुहुन्छ। नेकपाका उम्मेदवारलाई जिताउन पार्टी अध्यक्ष प्रचण्ड नै त्यहाँ पुग्नुभयो। राप्रपाका अध्यक्ष कमल थापाले पनि चुनावी सभा गर्नभयोे। कांगे्रसका पूर्वराज्यमन्त्री तप्त विष्टले रझेनामा रात बिताउनुभयो।

सबै पार्टीका जिल्ला नेतृत्वको नजर रझेनामा परेको छ। घरदैलो गर्दै मतदातालाई आफूतिर आकर्षित गर्ने काम भइरहेका छन्। जिल्लामा अन्यत्र चुनाव नभएकाले पनि नेताहरू त्यहाँ सोहरिएका छन्।रझेनामा आधा मतदाता थारू छन्। त्यही भएर ठूला पार्टीले उम्मेदवार नै थारूलाई बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्