पञ्चेश्वर सडक ट्रयाकको काम यसै वर्ष सकिने



नेपाल समाचारपत्र, बैतडी। 

करिब ३ दशकदेखि निर्माण कार्य शुरू भएको बैतडीको पाटन–पञ्चेश्वर सडकको ट्रयाक खोल्ने काम चालू आर्थिक वर्षमा सकिने भएको छ। पाटनदेखि पञ्चेश्वरसम्मको ६५ किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिनुभयो।

२०४३ सालदेखि निर्माण कार्य शुरू भएको भएपनि पाटन–पञ्चेश्वर सडक अहिलेसम्म पूरा हुन सकेको छैन्। जिल्लाको तल्लोसोराड क्षेत्रलाई जोड्ने मुख्य सडकको रूपमा रहेको सो सडकमा पछिल्ला ६ वर्षयता बजेट विनियोजन हुँदै आएको छ।

योवर्ष पञ्चेश्वर बहुउद्देश्यीय आयोजना स्थलसम्म सडकको ट्रयाक खोलिसकिने प्रमुख जोशीले बताउनुभयो। यसअघि सडक डिभिजन कार्यालयमातहत रहेको सो सडक गत वर्षदेखि पूर्वाधार विकास कार्यालयले हेर्दै आएको छ।

पूर्वाधार विकास कार्यालयले सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न गर्नका लागि १ करोड बजेट माग गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख जोशीले जानकारी दिनुभयो।

पाटन–पञ्चेश्वर सडकको ३५ किलोमिटर मेलौलीसम्म कालोपत्रे गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। आर्थिक २०७३/७४ देखि पाटन–पञ्चेश्वर सडकलाई कालोपत्रे गर्ने काम भइरहेको छ।
मेलौलीदेखि पनि सो सडकलाई स्तरोन्नतिका लागि राष्ट्रिय योजना आयोगसँग छलफल भइरहेको प्रमुख जोशीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्