प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिको मृत्यु



नेपाल समाचारपत्र, डोटी। 

मादक पदार्थ सेवन गरी गाडी छेकेको आरोपमा आइतबार दिउँसो प्रहरी चौकी डोटी गैराले पक्राउ गरेका एकजना चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दिलिपसिंह देउवाले दिनुभएको जानकारीअनुसार मृत्यु हुनेमा जिल्लाको जोरायल गाउँपालिका–१ गैराका २१ वर्षीय गणेश पाली रहेका छन्।

मृतक पालीले मादक पर्दाथ सेवनगरी गैराबाट डडेल्धुराको गाङखेत जाने कच्ची सडकमा अन्य जिपलाई जान नदिई आफूले चलाउँदै आएको से१ज २९२ नम्बरको महेन्द्रा जिपले बाटो छेकेको जानकारी पाएपछि प्रहरीले निजलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

नियन्त्रणमा लिइएका चालक पालीले प्रहरी चौकीमा पुगेपछि आफूलाई पिसाब लागेको भन्दै शौचालयमा गएर नाम नखुलेको दुई क्याप्सुल औषधी खाई शौचालय बाहिर निस्किँदा आगनमा ढलेको अवस्थामा प्रहरीले उठाई उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

चालक पालीले कुन औषधी तथा के कारणले खाएका हुन सो विषयमा प्रहरीले बताएको छैन्। उता अहिले गैरा क्षेत्रमा मृतकका आफन्तले घटना रहस्यमय भएको भन्दै नाराबाजी गरिरहेका छन्। त्यहाँको स्थिति नियन्त्रण लिन प्रहरी संख्या थप गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्