औषधी खानै मान्दैनन् एचआईभी संक्रमित



विमल विष्ट, डोटी ।

जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ सालदेखि एचआईभी संक्रमितले सेवन गर्ने एआरटी प्रयोग गर्दै आउनुभएको छ।

तर विगत केही महिनादेखि उहाँ औषधी सेवन गर्नुभएको छैन्। उहाँ आफूलाई रोग निको भइसकेकोले अब सधैं औषधी खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्नुहुन्छ।

एआरटी सेवन गर्न छोडेपछि उहाँलाई अन्य रोगहरूको संक्रमण हुन थालेको छ। धनसरा जस्तै अन्य एचआईभी संक्रमितले पनि औषधी सेवन गर्न आनाकानी गर्ने गरेका छन्।

‘स्वास्थ्य संस्थाबाट औषधी लगेर जान्छन् तर घरमा लगेर थन्काइदिन्छन्’ संक्रमित कमला मल्लले भन्नुभयो, ‘एक संक्रमित महिलाले २४ महिनासम्मको औषधी घरमै थन्काएको पाइयो।’

औषधी सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु हुँने कमलाको दाबी छ। विसं २०६२ सालमा पहिलो पटक आफू एचआईभी संक्रमित भएको भन्दै खुलेकी कमला मल्लले भन्नुभयो– ‘कयौं संक्रमितको औषधी सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधी खाएर ैन केही हुँद भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरू औषधी सेवन गर्दैनन्।’

पछिल्लो समयमा यस्तो समस्या देखिएको जिल्ला अस्पताल डोटीका डाक्टर गिरीस अवस्थी बताउनुहुन्छ। ‘लगातार औषधी खाएपछि कमजोर भइन्छ भन्ने एचआईभी संक्रमितमा मानसिकता रहेको पाइयो’ डा. अवस्थीले भन्नुभयो– ‘लगातार औषधीको सेवन गर्न झन्झट मान्ने रहेछन्।’

जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिडेन्टेन्ट डा. भुषण मिश्रले संक्रमितलाई एआरटीको महत्वबारे जानकारी नभएका कारण उनीहरूले बिचमै औषधी सेवन गर्न छोड्ने बताउनुभयो।

‘लगातार औषधी खाँदा साइड इफेक्ट हुन्छ भन्ने बुझाइ एचआईभी संक्रमितमा छ,’ डा. मिश्र भन्नुहुन्छ– ‘तर एआरटी सेवन नगरे छिट्टै मृत्युको मुखमा पुगिन्छ भन्ने कुरा बुझेका छैनन्।’

डोटी जिल्लामा एआरटी सेवन गरिरहेका मध्ये २३ जना सम्पर्कविहीन रहेको जिल्ला अस्पतालको एआरटी शाखाका प्राविधिक कमल रेग्मीले जानकारी दिनुभयो।

जिल्ला अस्पताल डोटीबाट एआरटी सेवन गरिरहेका कुल ७ सय ६४ संक्रमितमध्ये हालसम्म १ सय ५१ को मृत्यु भइसकेको समेत रेग्मीले बताउनुभयो।

उहाँका अनुसार ६० जनालाई जिल्ला बाहिर रिफर गरिएको छ। जिल्लामा रहेका अधिकांश स्थानीय कामका लागि भारत जाने तथा त्यहाँ उनीहरूले गर्ने असुरक्षित यौन सम्पर्कका कारण जिल्लामा एचआईभी बढ्न थालेको छ।

एचआईभी संक्रमितबाट जन्मेका अधिकांश बालबालिकामा समेत एआईभी देखिएको जिल्ला अस्पताल डोटीको तथ्यांकमा उल्लेख गरिएको छ। पछिल्लो समय जिल्ला एचआईभी संक्रमितको संख्या घट्नुको साटो बढीरहेको पाइएको जिल्लामा एचआईभीको क्षेत्रमा काम गर्ने संघ संस्थाहरूको दाबी छ।

प्रतिक्रिया दिनुहोस्