भारतको चपेटामा नेपाली बस्ती



उत्तम नेपाल, भद्रपुर।

१०५ नम्बर पिलर नजिकै मेचीपारि गाउँमै सन्थाल बस्ती छ। त्यहाँ १४ घरपरिवार मध्ये ७ घरपरिवारलाई झन्डै २० वर्षअघि भारतले रासन कार्ड (नागरिकता) दिएर भारतीय नागरिक बनाउन खोजेको बाबुला हाँस्दा बताउनुहुन्छ।

त्यस बेला सीमा पिलर कुनै पनि थिएन, भारतको ठाकुरगन्जबाट आएको भारतीय अधिकारीको टोली गाउँमै आएर रासन कार्ड दिएको घटना सुनाउँदै उहाँले भन्नुभयोे– ‘त्यसबेला हाम्रो जमिन लिनलाई भारतीय बनाउन खोजेको रहेछ, त्यस बेला थाहा पाइन, अहिले थाहा भयो।

अहिले हामीले भारतीय रासन कार्ड त्यागिसकेका छांै, विसं २०६३ सालको टोलीमा नेपाली नागरिकता लिएर नेपाली भइसकेका छौं।’ पहिला मेचीपारि गाउँमा एउटा पनि पिलर थिएन, अहिले जता त्यतै साना तथा ठुला पिलर गाडिएको स्थानीय बताउँछन्।

१०४ नम्बर पिलर नजिकै पनि भारतको सन्थाल बस्ती छ। पहिला त्यो बस्ती नेपाल थियो, ६२ वर्षीय सम मुर्मु बताउनुहुन्छ। ‘पहिला हामी नेपाली नागरिक थियौं। नेपालको धनिपुर्जा पनि थियो, झन्डै २० वर्ष भयो हामी भारतीय नागरिक भएको।

म सानोदेखि यहीँ छु, पहिला यहाँ कुनै पिलर थिएन,’ मुर्मुले भन्नुभयो– ‘मिया बस्तीमा एउटा मात्र पिलर थियो।२० वर्षअघि १०४ नम्बर पिलर यहाँ राखियो, उहाँले भन्नुभयो, ‘अहिले त भारतले सार्दासार्दै मेची नदीमै पुर्याइसकेको रहेछ।’

पिलर सीमा छुट्टाए पनि दुवै देशका बासिन्दा मिलेर बसेका छांै, हामीमा त्यस्तो केही विवाद पनि छैन, दुवै देशको भूमिमा दुवै देशका नागरिक मिलेर जोतभोग गर्दै आइरहेका छौं।’यस्तो पीडा झापाको भद्रपुर नगरपालिका–३ स्थित मेचीपारि गाउँको हो।

मेची नदीले टापु आकार बनाइदिएको मेचीपारि गाउँमा १ सय ५५ घरधुरी रहेको छ। गाउँमा महतो, राजवंशी र सन्थाल समुदायका बासिन्दा वर्षौंदेखि बसोबास गर्दै आइरहेका छन्। १०४ र १०५ नम्बर सीमा स्तम्भले घेरिएको गाउँलाई भारतले नेपाली बस्ती जोगाएर भी आकारले नेपाली भूमि कब्जामा लिइसकेको छ।

भारतले नेपाली भूमि मिच्दै आए पनि देशका प्रहरी प्रशासन, नेता र मन्त्री नबोल्दा मन दुख्छ। हराएको र खोलाले बगाएको भन्दै भारतले सीमामा नयाँ स्तम्भ गाड्ने क्रममा हरेक पटक नेपाली भूमि मिच्दै आइरहेको छ।

गाउँमा प्रहरी चौकी र सरकारी विद्यालय नभएको भए वर्षौँअघि भारतीय नागरिक भइसक्थ्यौं। गाउँमा मेचीपारि प्रहरी चौकी र मेचीपारि आधारभूत विद्यालय स्थापना नभएको भए भारतले वर्षौँअघि यो गाउँ आफ्नो कब्जामा लिइसकेको हुन्थ्यो, प्रहरी र शिक्षककै कारण अहिलेसम्म नेपाली भूमिमा छौं ६९ वर्षीय श्रीप्रसाद महतोले निरास भावमा पीडा सुनाउनुभयो।

भारतमा ब्रिटिस शासन हुँदा नेपालको भूमि अहिले गाडिएको पिलर भन्दा तीन किलोमिटर भित्र थियो, भारतले सीमा मिच्दामिच्दै अहिले बग्दै आएको मेची नदी नै लगिसक्यो।

वि.सं.२०२० सालमा अहिले भारतले कब्जामा लिइसकेको भूभागबाट मेची नदी बगेको विगत सुनाउँदै महतोले भन्नुभयो– ‘अहिले मेची नदी बग्ने ठाउँ नजिकै बस्ती थियो, त्यहाँबाट पानी बग्न थालेपछि बस्ती सरेर अहिलेको ठाउँमा आएको हो।

उहाँका अनुसार त्यस बेला कुनै सीमा पिलर थिएन। एउटा जङ्गे पिलर थियो। त्यो ठाउँ भारतको विहार, किसनगन्ज जिल्लाको निमुगुरी (मिया बस्ती)मा पर्छ।’

‘जङगे पिलर हुँदाहुँदै करिब तीन किलोमिटर छाडेर भारत नेपालमा प्रवेश गरिसकेको छ’, पिलरको विषयमा केही बोल्यो भने भारतीय सुरक्षाकर्मीले दिल्ली पुर्याइदिने धम्की दिने गरेको उहाँले सुनाउनुभयो।

धम्की आउँदा पनि यहाँका प्रशासन र नेता केही बोल्न सक्दैन, अनि बाध्य भएर सीमा मिचेको हेर्दै आइरहेको उहाँले बताउनुभयो। भारतले साना रिफ्रेन्स पिलर खेतमा ल्याएर गाडे पनि हामीले जोतभोग गर्न छाडेका छैनौ, भारतीय जनता नेपाली भूमिमा आएर जोतभोग गर्दैछन्।

यहाँका जनता भारतीय भूमिमा पनि जोतभोग गर्दै आइरहेका छन्, अहिले दुवै पक्षले जोतभोग गर्दै आइरहेको भूमि नेपालकै हो।

‘अहिलेसम्म भारतीय सुरक्षाकर्मीले केही बोलेका छैनन, बोलेको दिन यहाँ विवाद पक्कै हुन्छ। तीनदेखि चार वर्ष भयो भारतले पिलर सार्दा सार्दा नेपाली भूमि मिचिसकेको’ –६२ वर्षीय लेकेरु राजवंशी बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्