प्रहरीविरुद्ध गाईगोरु व्यापारीको रिट



नेपाल समाचारपत्र, भद्रपुर।

झापा प्रहरीसक्रिय बनेपछि गाई–गोरु तस्करी नियन्त्रण सिराहाका एक गाईगोरु व्यापारीले प्रहरीविरुद्ध अदालतमा रिट दायर गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनिलाई विपक्षी बनाएर सिराहा बरफहवा नगरपालिका–६ का २८ वर्षीय नीरजकुमार सिंहले उच्च अदालत इलाममा रिट निवेदन दर्ता गराएका हुन्।

सोही रिटका आधारमा उच्च अदालत इलामले १५ दिनभित्र अदालतमा हाजिर हुन झापाका एसपी दिनेशराज मैनाली र इलाका प्रहरी कार्यालय अनारमनिका डिएसपी मोहन थापालाई जानकारी गराएको छ। अदालतमा रिट निवेदन दर्ता गर्ने नीरजकुमार सिंहका बुबा शम्भु सिंह सिराहका ठूला गाईगोरु व्यापारी हुन्।

गाई–गोरु भारतहुँदै बंगलादेश तस्करी गर्ने झापा जिल्ला प्रमुख नाकामा पर्छ। भारतको उत्तर प्रदेशबाट सिराहा जिल्लाका नाकाबाट नेपाल भित्र्याइने गाई–गोरु त्यहाँबाट झापा जिल्ला ल्याईन्छ।

अनि झापाबाट गाई–गोरु भारततर्फ तस्करी हुन्छ। छोरा नीरजलाई अगाडि बढाएर व्यापारी शम्भुले झापाका गाई–गोरु व्यापारी जीवन कार्की र जय चुडालसँग मिलेर अदालतमा रिट हालेको प्रहरी स्रोतको दाबी छ।

झापाका ठूला गाई–गोरु व्यवसायीले फेरि पहिला जस्तै तस्करी गर्न पाउन भनी प्रहरीकर्मचारीलाई नै विपक्ष बनाएर उनीहरूले योजनाबद्ध तरिकाले अदालतमा रिट हालेको बुझिएको छ।

वैधानिक रूपमा देशभर पशु चौपायाको व्यापार गर्दै आएको दाबी गर्दै व्यापारी सिंहले गैरकानुनी रूपमा प्रहरीले चौपायामा रोक लगाएको उल्लेख छ।

व्यापारी सिंहले झापाका व्यापारी चुडाल र कार्कीसँग मिलेर दमक, दामुना, कुन्जीवारी, सूरुङ्गा, खुदुनाबारी, चकचकी, घैलाडुब्बा, भद्रपुर, ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा लगायतका नाकाबाट गाईगोरु गैरकानुनी रूपमा भारत निकासी गर्दै आइरहेका छन्।

झापामा प्रहरीले १५ दिनअघि सिराहाबाट ५० वटा गोरुलोड गरिएको ना ६ ख ३८४१ र ना ५ ख ५९४६ नम्बरको फुलबडी ट्रक सुरुङ्गाबाट झापा गाउँपालिकाको टाघनडुब्बा नाकाहुँदै भारतको डिगलबंैक नाकातर्फ लैजाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको थियो।

त्यसैगरी, प्रहरीले झापा गाउँपालिका ४ र २ मा पर्ने सीमा नाकाबाट मे १ ज १७६१ र प्र १–०१–००१ ज–३३८५ नम्बरको पिकअप भ्यानमा लोड गरिएको १२ वटा गाई–बाछी सोही गाउँपालिका हुँदै भारतको डिगलबैंक नाकातर्फ लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएको ट्रक र पिकअपसहित गाई–गोरु छुट्टाउने व्यापारी सिंह, चुडाल र कार्कीले जिल्लादेखि केन्द्रसम्म शक्ति लगाएपनि नछुटेपछि उनीहरू अदालतको ढोकासम्म पुगेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्