सम्पत्ति शुद्धीकरणमा तानियो नोबेल मेडिकल कलेज



नेपाल समाचारपत्र, विराटनगर।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नोबेल मेडिकल कलेजका पदाधिकारीको तीनपुस्ते विवरण लिएको छ । एमबीबीएस र बीडीएसलगायतका विद्यार्थीबाट सरकारले तोकेभन्दा धेरै अतिरिक्त शुल्क लिएको आरोप लागेकै बेला विभागले तीनपुस्ते विवरण लिएको हो।

नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार १ सय १८ रुपियाँ विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको केन्द्रको ठहर छ ।

विभागको तीन सदस्ययी टोलीले आइतबार र सोमबार कलेजका सञ्चालक, उच्च तहका कर्मचारीको विवरण र परिवारको नामावलीसहित हालसम्म भर्ना भएका सबै कार्यक्रमका विद्यार्थी संख्या, शुल्कसम्बन्धी विद्यार्थी र अभिभावक तथा अन्यसँग भएका सम्झौताको प्रतिलिपि लिएका छन्।

कलेजको लेखापरीक्षण प्रतिवेदन, कलेजको आर्थिक प्रशासन सञ्चालनसम्बन्धी कानुनको प्रमाणित प्रतिलिपि पनि टोलीले लगेको सञ्चालक सुनिल शर्माले बताउनुभयो।

त्यसै गरी चिकित्साशास्त्र विभिन्न विधामा भर्ना भएका विद्यार्थी र परीक्षाको पाँच वर्षको विवरण, कलेजका निर्णयहरू, सम्पत्ति विवरण र अध्ययनरत तथा गएका विद्यार्थीका नामावली र शुल्कको विवरण पनि विभागको टोलीलाई उपलब्ध गराइएको शर्माले बताउनुभयो।

कलेज सञ्चालक शर्मा, पत्नी इन्दिरा बराल शर्मा, बाबु लोकनाथ न्यौपाने, आमा हुमादेवी, छोरा इशान, छोरी स्वयन, लेखा प्रमुख अमिर न्यौपाने, प्रशासन प्रमुख दीपेश राई, प्रबन्धक नारायण दाहाल र प्राध्यापक डिल्लीराम निरौलाको तीनपुस्ते विवरण टोलीले लगेको छ।

नोबेल मेडिकल कलेजले तीन वर्षमा ३५ करोड ४७ लाख ४४ हजार १ सय १८ रुपियाँ विद्यार्थीबाट अतिरिक्त शुल्क लिएको केन्द्रको ठहर छ ।

त्यसै गरी सन् २०१८ मा मात्र यो कलेजले प्रतिविद्यार्थी भर्नामा ७ लाख ४५ हजार रुपियाँ अतिरिक्त शुल्क उठाएको र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार ७ सय ३२ रुपियाँ असुली गरेको र सन् २०१८ मा मात्र कलेजले ५० पेइङ विद्यार्थीबाट १२ करोड ७० लाख २६ हजार रुपियाँ बढी उठाएको केन्द्रको प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्