पोखराका मुख्य चोकमा आकाशेपुल : विद्या



नेपाल समाचारपत्र, पोखरा।

कास्की २ प्रतिनिधिसभा सदस्यकी उम्मेदवार विद्या भट्टराई अधिकारीले सिर्जना चोकसहित पोखराका मुख्य चोकमा आकाशेपुल बनाउने घोषणा गर्नुभएको छ।

चुनावी घरदैलोका क्रममा सृजना चोकमा भएको कोणसभामा उहाँले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्राफिक जाम कम गर्न सभागृह चोक, पृथ्वी चोक, महेन्द्रपुल, अमरसिंह चोकलगायतका मुख्य चोकमा आकाशेपुल अत्यावश्यक रहेको बताउनुभयो।

कास्की २ मा यसअघि निर्वाचित रवीन्द्र अधिकारीकै पहलमा सिर्जनाचोकमा आकाशेपुलको डीपीआर बनेर बजेटसमेत विनियोजन भइसकेको छ। उहाँले भन्नुभयो– ‘जितपछि आकाशेपुलसहित सुन्दर पोखरा बनाउने अभियानमा जुट्नेछु।’

नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले २ पार्टी एक भएर जनतामा आएको उल्लेख गर्दै जनताले एकता र समृद्धिको शुरुआतलाई भव्य अनुमोदन गर्ने विश्वास व्यक्त गर्नुभयो।

‘जनताले एकतालाई अनुमोदन गर्छन्’, उहाँले भन्नुभयो– ‘स्थायी सरकार बनेर विकासले गति लिएको छ, यो गतिलाई निरन्तर राख्न पनि नेकपाको जित जरुरी छ।’

उहाँले करको बारेमा कांग्रेसले भ्रम सिर्जना गरेको दाबी गर्नुभयो। कांग्रेसले जितेका नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उद्घोषसमेत गर्नुभयो।

‘तपाईंहरू ढुक्क हुनुस् कांग्रेसले जितेको नगरमा भन्दा पोखरामा करको दर कम छ’, उहाँले भन्नुभयो– ‘बढी भएको प्रमाणित गर्नुहुन्छ भने नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा गर्न लगाउँछौं।’

पोखरा ८ का चुनावी कमान्डर नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुवेदी, सोमनाथ बराल, रुद्रनाथ बराललगायतले विकास र समृद्धि संस्थागत गर्न र युवा तथा महिला सशक्तीकरणका लागि नेकपालाई जिताउन आग्रह गरे।

शनिबार सिर्जना चोकबाट शुरू भएको चुनावी घरदैलो कार्यक्रम रत्नचोक, फिर्के, नागढुंगा हुँदै चालिसेचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

घरदैलोका क्रममा उम्मेदवार विद्याले वृद्धभत्ता, विधवा भत्ता जस्ता सामाजिक सुरक्षाका योजना ल्याउने पार्टीले वृद्धहरूको सम्मानपूर्वक बाँच्ने आधार बनाइदिएको बताउनुभयो।

उहाँले युवालाई शिक्षा, व्यक्तित्व विकास र रोजगारीको व्यवस्था गर्न समृद्ध नेपाल जरुरी रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘समृद्धि, विकासबाटै रोजगारीका अवसर सिर्जना र जीवनस्तर उकास्ने मार्गचित्र नेकपासँग मात्रै छ।’

पोखरा २१ का विभिन्न कमिटी

पोखरा २१ कृस्ती, निर्मलपोखरीमा युवा तथा विद्यार्थी परिचालन कमिटी र बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेसागत कर्मचारी परिचालन कमिटी बनेका छन्। अर्जुन भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्यीय युवा तथा विद्यार्थी परिचालन कमिटी र निर्मलबहादुर अधिकारीको संयोजकत्वमा १ सय १ सदस्यीय बुद्धिजीवी, शिक्षक, कर्मचारी तथा पेसागत कर्मचारी परिचालन कमिटी बनेको नेकपा कास्की २ चुनाव प्रचारप्रसार समिति सहसंयोजक झपट रानाभाटले जानकारी दिनुभयो।

कार्यक्रममा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पोखराको विकास र समृद्धिको जग नेकपाले राखेकाले यसको मूर्तरूप पनि नेकपाले मात्रै निर्माण गर्न सक्ने जिकिर गर्नुभयो।

विद्यामा नेतृत्व, व्यक्तित्वदेखि प्राज्ञिक सबै क्षमता भएकाले जनताको रोजाइको उम्मेदवार पार्टीले अघि सारेको बताउनुभयो।

संवेदना होइन, योग्यताले मैदानमा ः कुसुम

नेकपा कास्की२ को भेलाले २ सय ५१ सदस्यीय चुनाव परिचालन समिति गठन गरेको छ। भेलामा नेकपा नेतृ गायत्री गुरुङ ‘कुसुम’ले विद्यामा रवीन्द्रको क्षमताको प्रतिबिम्ब रहेको औंल्याउनुभयो।

उहाँले विद्या आफ्नै क्षमताले उम्मेदवार बनेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– ‘संवेदनाले मात्रै उम्मेदवार हुनुभएको होइन।

उहाँमा योग्यता, क्षमता र विकासको रोडम्याप पनि छ।’ विद्यार्थी र महिला आन्दोलनमा खेलेको भूमिकाको मूल्यांकन गरी पार्टीले उम्मेदवार बनाएको उहाँले उल्लेख गर्नुभयो।

अम्बिका थापाको अध्यक्षतामा भएको कार्यक्रममा सीता विक, राधिका शाही योगी, नेकपा नेता कमलमोहन पौडेललगायतले बोलेका थिए।

ठूली मजुवामा परिचालन कमिटी

पोखरा १५ मा पनि दिनहुँजसो घरदैलो जारी छ। आइतबार ठूली मजुवामा चुनावी घरदैलो तथा कोणसभा गरिएको छ।

कोणसभामा नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डले नेकपाको सरकार भएकै बखत ठूला योजना शुरू भएको र त्यसलाई अनुमोदन गर्न नेकपा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। वडामा थपबहादुर थापाको अध्यक्षतामा ५१ सदस्यीय ठूली मजुवा टोल निर्वाचन परिचालन कमिटी बनेको छ।

३३ मा जनजातिको भेला

पोखरा ३३ मा भएको जनजातिको भेलाले सन्देश पुनको संयोजकत्वमा ३५ सदस्यीय निर्वाचन परिचालन कमिटी बनाइएको छ।

कार्यक्रममा नेकपा कास्की सदस्य भीम कार्कीले जनजाति, उत्पीडित, अल्पसंख्यक र पिछडिएकाको आवाज बोल्ने पार्टी नेकपा नै भएको बताउनुभयो। उहाँले समतामूलक समाज निर्माणका लागि नेकपालाई जनताले जिताउने विश्वास व्यक्त गर्नुभयो।

१६ मा चुनावी अभियान

नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ को महिला समितिले आइतबार भेला आयोजना गरेको छ। भेलाले गुमादेवी अधिकारी गौतमको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन उपसमिति गठन गरेको छ।

समितिको उपसंयोजकमा सविना राणा र लालशोभा गुरुङ छन्। उपसमितिले चुनावी अन्तत्र्रिmयासहित प्रचारलाई तीव्र बनाउने जनाएको छ। यहाँ नेकपाले मंसिर ८ र ९ गते उम्मेदवारसहित घरदैलो गर्ने जनाएको छ।

विद्याललाई कलाकारको दरिलो साथ

चुनावी मैदानमा होमिएकी नेकपा उम्मेदवार विद्यालाई सांस्कृतिक प्रस्तुतिसहित कास्कीका कलाकारले मत मागेका छन्।

दिनहुँजसो हुने चुनावी घरदैलो तथा कोणसभामा सांस्कृतिक नृत्य तथा गायनको माध्यमबाट कलाकारले नेकपालाई मत दिन आग्रह गरिरहेका छन्।

गायक प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, तारापति सुवेदी, कृष्ण भण्डारी, शिवहरि ढुंगानालगायत थुप्रै कलाकार चुनावी अभियानमा रहेको सांस्कृतिक संयोजक मनकुमार श्रेष्ठले जानकारी दिनुभयो।

सोमबार र मंगलबार पोखरा १७ मा उम्मेदवारसहितको घरदैलो हुनेछ। सोमबार बिहान दोबिल्लाबाट मतदाताको घरदैलोमा पुगी प्रगतिटोल, लामतरा हुँदै महतगौंडामा कोणसभा गरिने निर्वाचन परिचालन कमिटी संयोजक सुवास ढुंगानाले बताउनुभयो।

सोमबार दिउँसो कञ्चन बोरिङ, तीनकुने हुँदै हनुमानटोलसम्म घरदैलो गरी समापन सभा हुने उहाँले जानकारी दिनुभयो।

मंगलबार सिमलटँुडा, बेलघारी, डेभिजफल, डेमसाइड, रौटाचोकलगायतका सभामा घरदैलो, विभिन्न ठाउँमा चुनावी सभा र विरौटचोकमा वडास्तरीय चुनावी सभा हुने ढुंगानाले जानकारी दिनुभयो।

मंसिर ४ देखि १० गतेसम्म मतदाता शिक्षाका दिन घरदैलो गरिने निर्वाचन परिचालन कमिटी सहसंयोजक ईश्वरी लम्सालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्