पाँच मतदान केन्द्र तोकिए



नेपाल समाचारपत्र, बैतडी। 

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका ४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ।

मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडा दुई दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइने जिल्ला निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो। मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचनबारे जानकारी दिनका लागि हाते पुस्तिका, स्रोत पुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित घरदैलो कार्यक्रम गरिने जनाइएको छ।

सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर उनीहरूले मतदाता शिक्षा प्रदान गर्ने जनाइएको छ। मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको महत्व, मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने भएका छन्।

बदर मतको प्रतिशतमा कमी ल्याउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिन लागिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।
८ जना चुनावी मैदानमामंसिर १४ मा हुने उपनिर्वाचनका लागि बैतडीमा ८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

जिल्लाको दोगडाकेदार ४ मा नेकपाबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली कांग्रेसबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तबाट देवसिंह खत्रीले उम्मेदवारी दिनुभएको छ। यस्तै सुर्नया १ मा नेकपाबाट धनबहादुर चन्द र नेपाली कांग्रेसबाट गजेन्द्रबहादुर चन्दको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ।

उता पुर्चौडी–४ मा नेकपाबाट शैलेन्द्र धानुक, कांग्रेसबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहराले उम्मेदवारी दर्ता गराएका छन्। ४ हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिएउपनिर्वाचनमा बैतडीमा ४ हजार बढी मतदाता सहभागी हुने भएका छन्।

जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने ३ वडामा कुल ४ हजार ३ सय ३६ मतदाता सहभागी हुने भएका छन्। जसमा दोगडाकेदार गाउँपालिका–४ मा १ हजार ८ सय ८ सुर्नया गाउँपालिका–१ मा ६ सय १९ र पुर्चौडी नगरपालिका– ४ मा १ हजार ९ सय ९ मतदाता रहेका निर्वाचन अधिकारी माधव फँुयालले जानकारी दिनुभयो।

निर्वाचन हुने ३ वडामा ५ वटा मतदान केन्द्र तोकिएका छन्। दोगडाकेदार–४ मा केदारनाथ मावि पिपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका– १ मा गाविस भवन गुर्केली र पुर्चौडी नगरपालिका ४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदानकेन्द्र तोकिएका छन्।

पिपलकोट माविमा १ हजार २ सय २९, हुनैनाथ माविमा ५ सय ७९, गाविस भवन गुर्केलीमा ६ सय १९, महादेव माविमा ८ सय ६५ र पहरोल मावि मतदान केन्द्रमा १ हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन्।

यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन्।वडाध्यक्ष पद रित्त रहेका बैतडीका ३ वडामा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनका उम्मेदवारी दिएका राजनितिक दलहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया दिनुहोस्