महायज्ञको आयव्यय सार्वजनिक



रोल्पा, (नेस)।

त्रिपुरेश्वरी माध्यमिक विद्यालय खुंग्री रोल्पाले गत असोज अन्तिम साता सञ्चालन गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्च शनिबार सार्वजनिक गरेको छ। धार्मिक महोत्सव मूल समारोह समितिले पत्रकार सम्मेलनमार्फत आम्दानी र खर्च सार्वजनिक गरेको हो।

महायज्ञमा ७७ लाख २४ हजार ७९९ आम्दानी र १५ लाख ९६ हजार ३२ रुपियाँ खर्च भएको मूल समारोह समितिका अध्यक्ष प्रेमलाल भारतीले जानकारी दिनुभयो। महायज्ञमा ६१ लाख २८ हजार ७ सय ६७ बचत भएको भारतीले बताउनुभयो।

महोत्सवमा कबोल गरेको रकममध्ये ४९ लाख २६ हजार ७ सय ९ रुपियाँ उठिसकेको र बाँकी रकम केही दिनभित्र उठ्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल गिरीले जानकारी दिनुभयो।

उठेको रकमबाट अक्षय कोष स्थापना गरी कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयले जनाएको छ। अक्षयकोषको ब्याजबाट शिक्षकको तलब खर्च गर्नुका साथै गरिब र जेहेन्दार विद्यार्थीको छात्रवृत्तिमा खर्च गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक समीक्षा बुढाथोकीको भनाइ छ।

यसै वर्षदेखि व्यवस्थापन संकायमा कक्षा ११ सञ्चालन गरिरहेको सो विद्यालयले आगामी वर्षदेखि प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्